नेपालीहरूलाई प्रलोभनमा पारेर भारत पुर्याई मिर्गौला निकाल्ने समूहका मुख्य व्यक्ति पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ घर भई भारत नयाँ दिल्लीबस्ने ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रवती गाउँपालिका-२ घर भएका २९ वर्षीय सुजन भारती पक्राउ परेका हुन्।
भण्डारी र भारती दिल्लीस्थित लाजपत नगरमा सँगै बस्ने गर्थे।
श्यामकृष्णलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुर गड्डाचौकी सिमाना र सुजनलाई पर्सा प्रहरीको सहयोगमा वीरगञ्ज नाकाबाट पक्राउ गरेको हो।
उनीहरूलाई संगठित रूपमा कानून विपरीत मानव अंग मिर्गौला झिकेर मानव बेचबिखन ओसारपसार सम्बन्धी कसूर मुद्दामा पक्राउ गरिएको हो।
यसअघि सोही समूहका तीन जना पक्राउ परेका थिए।
पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी नगरपालिका-४ का ४७ वर्षीय राकेश नेपाली छन्।
उनीहरूविरूद्ध साउन २१ गते सिन्धुली नगरपालिका-१ का खिलबहादुर भुजेलले आफूलाई प्रलोभनमा पारेर मिर्गौला निकालिएको भन्दै उजुरी दिएका थिए।
उजुरीपछि बयानका क्रममा उनले आफूजस्तै थुप्रै नेपालीहरूलाई प्रलोभनमा पारेर मिर्गौला निकाल्ने गरिएको जानकारी प्रहरीलाई दिएका थिए। उनको बयानसँगै प्रहरीले यस घटनामा कानुनी प्रक्रिया अगाडि बढाएको थियो।
प्रहरीले प्रलोभनमा पारेर मिर्गौला निकालिएका पीडितलाई सम्पर्कमा आउन आग्रह गरेको ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
उनका अनुसार प्रहरीले आग्रह गरेसँगै उक्त समूहविरूद्ध भुजेलसहित ५ जना पीडितले ४ वटा जाहेरी दिएका थिए। पीडित र पक्राउ परेका व्यक्तिको बयानसँगै ठूलो समूहले प्रलोभनमा पारेर मिर्गौला निकाल्ने गरेको सूचना प्राप्त गरेको थियो।
उक्त समूहले ५ वर्षदेखि प्रलोभनमा पारेर भारत पुर्याइ मिर्गौला निकाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
सुजन, राजकुमार, समीर र राकेश एजेन्ट भएर काम गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले विभिन्न समूहमा विभाजित भई काम गर्दै आएको देखिएको एसएसपी पंगेनीले जानकारी दिए।
एसएसपी पंगेनीका अनुसार उनीहरूले सुरूमा काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायतका ठाउँहरूमा आर्थिक अवस्था कमजोर भएका, सिधा सादा व्यक्तिहरूलाई खोजेका थिए।
त्यस्ता व्यक्तिहरूसँग कुराकानी गर्ने, साथी बनाउने र पैसाको प्रलोभन देखाउने काम नेपालमा बस्ने समीर, सुजन र राकेश मिलेर गर्ने गरेको बताएका छन्।
मानिसहरूलाई फकाएर राजी गराउने र त्यसबापत ६ लाखसम्म रूपैयाँ पाउने भनेर प्रलोभनमा पार्ने गरेको अनुसन्धानमा खुलेको छ।
उक्त व्यक्ति राजी भएपछि उनीहरूलाई लैजानका लागि अर्कै समूह थियो। लैजाने काम प्राय सुजनले गर्ने गरेको देखिएको छ। सिन्धुलीका खिलबहादुरलाई पनि उनैले लगेका हुन्।
मान्छेलाई प्रलोभनमा पार्ने प्रतिव्यक्ति ५० हजार सुरूमै दिइने प्रहरी अनुसन्धानमा खुलेको एसएसपी पंगेनीले जानकारी दिए।
मिर्गौला दिन तयार हुने मानिसलाई तत्काल गाडीको व्यवस्थापन गरी आफ्नै खर्चमा नेपालबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पुर्याउने गर्छन्।
त्यहाँ पुर्याएपछि दिल्लीको लाजपतनगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा राख्ने गर्ने गरेको प्रहरीलाई बताएका छन्।
भारतमा बस्ने समूहले त्यहाँका विभिन्न अस्पताल, क्लिनकमा कार्यरत एजेन्ट, अस्पतालका कर्मचारी र डाक्टरसँग समन्वयन गरेर मृर्गौला निकाल्ने गरेको उनीहरूले प्रहरीलाई बताएका छन्।
भारतका एजेन्ट र अस्पतालसँग समन्वय गर्ने काम मुख्य काम भने नाइके श्यामकृष्णले गर्ने गरेको एसएसपी पंगेनीले जानकारी दिए।
'उनीहरू बसेकै होटेलमा आएर विभिन्न अस्पतालका कर्मचारी आएर ब्लड स्याम्पल लिने गरेको बताएका छन्,' उनले भने, 'जाँच भइसकेपछि मानिसलाई होटेलबाट निकाली आँखामा पट्टी लगाइ गाडीमा राखी बेहोस बनाइ मिर्गौला निकाल्ने ठाउँमा लैजाने गरेको जानकारी दिएका छन्।'
यसरी मिर्गौला निकालेपछि ३/ ४ दिनसम्म बेहोस बनाएर अस्पतालमा राख्ने गर्छन्। पीडितलाई मिर्गौला निकालेबापत ६ लाख दिने भने पनि श्यामकृष्णले भने अस्पताल र क्लिनिकहरूबाट भारु ६ लाख लिने (नेपालीमा ९ लाख ४० हजार) गरेको प्रहरीलाई बताएका छन्।
'मिर्गौला निकालेपछि नेपालमै पैसा दिनेभनि सम्झाइबुझाइ गरेर फर्काउने गरेको बताएका छन्। कतिलाई दिने र कतिलाई नदिइ फर्काउने गरेको पाइयो। त्यसमध्ये एक जना पीडितले ५ हजार रूपैयाँ मात्र पाएको प्रहरीलाई बताएका छन्,' उनले भने, 'श्यामकृष्णले अहिलेसम्म २५ जनाको मिर्गौला निकालेर पैसा लिएको बताएका छन्।'
यस संगठनमा आवद्ध भएका स्वयम व्यक्तिहरूले पनि मिर्गौला निकालेका छन्। नेपालमा बसेर मान्छे खोज्ने सुजनले पनि बेचेका छन्।
सुजनले भने मिर्गौला दिन जाने नेपालीहरूलाई नेपालबाट भारतमा लैजाने होटेलको व्यवस्थापन र खानपिनको व्यवस्थापनसमेत गर्ने गरेको बताएका छन्।
उनले भने प्रतिव्यक्ति ४० हजार रूपैयाँ पाउने गरेको प्रहरी बयानमा भनेका छन्। यसरी समूहमा विभाजित भएर संगठित रूपमा गैरकानुनी काम गरेको प्रहरी अनुसन्धनामा खुलेको छ।
त्यसैले उनीहरूविरूद्ध मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) २०६४ को परिच्छेद-४ दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाको दफा-१५ दण्डसजायको उपदफा (ग) अनुसार प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
सोही अनुसार कानुनी कारबाही अगाडि बढाइएको एसएसपी पंगेनीले जानकारी दिए।
यो पनि:
प्रलोभनमा पारी भारत लगेर ५ वर्षदेखि मिर्गौला तस्करी, यी समूह पर्थे टार्गेटमा
होटलमा काम गर्न भनेर भारत लगे, ६ लाख दिन्छु भन्दै निकाले मिर्गौला