बर्दियाकी २७ वर्षीया सुस्मिता थारूको हत्या आरोपी ८ महिनापछि पक्राउ परेका छन्।
मधुवन नगरपालिका वडा नम्बर २ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारू पक्राउ परेका हुन्।
उनी भदौ ५ गते पक्राउ परेका हुन्।
ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी सुस्मिता २०८१ पुस १८ गतेदेखि बेपत्ता थिइन्। त्यो दिन उनी घरदेखि खाना खाएर बिहान रातो रङको साइकल चढेर ‘नगरपालिकामा काम छ, त्यही जान्छु’ भनेर गएकी थिइन्।
तर उनी बेलुका घर फर्किनन्।
सुस्मिता घर फर्केर नआएपछि आफन्त आत्तिए। खोजी सुरू गरे। उनका श्रीमान् २७ वर्षीय फत्तेसिंह थारू त्यसबेला रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए।
घरमा उनीहरूका बालबच्चा पनि थिए। बालबालिकाले पनि आमाका लागि बिलौना गर्न थालेका थिए। माइती घरदेखि आफन्त सबै ठाउँमा खोजतलास गर्दा पनि उनी फेला परिनन्।
उनी हराएको जानकारी पुस २१ गते इलाका प्रहरी कार्यालय बनगाहा भुरीगाउँमा दिइयो। खोजतलासका लागि सहयोग गरिदिन भनेर निवेदन दिइएको थियो।
खोजतलासका क्रममा झन्डै एक महिनापछि माघ १५ गते बेलुकी ५ बजेतिर ठाकुरबाबा नगरपालिका–४ खौलार गाउँको पूर्व बबई नदीको बगर क्षेत्रको खरखरियाको झाडीमा सुस्मिताको कंकाल फेला परेको थियो।
कंकालसँगै फेला परेको कुर्ता, ज्याकेट र सलबाट उनका ससुरा सन्तराम थारूले शवको पहिचान गरेका थिए।
बुहारीको कंकाल फेला परेपछि तत्काल ससुरा ५० वर्षीय सन्तरामले ‘फुटकर ज्यान’सम्बन्धी जाहेरी दिएका थिए।
बेपत्ता भएको एक महिनापछि सुस्मिताको कंकाल मात्रै फेला परे पनि प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान अगाडि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार सुस्मिताले प्रयोग गरेको साइकल हालसम्म पनि फेला पर्न सकेको छैन।
प्रहरीका अनुसार सुस्मिताले प्रयोग गर्ने मोबाइल पनि हालसम्म फेला परेको छैन तर प्रहरीले उनले प्रयोग गर्ने मोबाइल नम्बरबाट अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।
मोबाइल नम्बरको ‘सीडीआर’ विश्लेषण गर्दै जाँदा प्रहरीले सुस्मितासँग गोपी भन्ने कनोहे थारूको धेरै पटक फोन सम्पर्क भएको तथ्य फेला पार्छ।
सुस्मिताले प्रयोग गर्ने नम्बरबाट अनुसन्धान गर्दै जाने क्रममा गोपी भन्ने कनोहे थारूसमक्ष प्रहरी पुग्छ। त्यसपछि गुलरिया नगरपालिका–३ प्रगतिटोलबाट गोपीलाई भदौ ५ गते बिहान साढे ९ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो।
सोधपुछका क्रममा एकपछि अर्को प्रश्न गर्दै जाँदा गोपीले प्रहरीसमक्ष घटना स्वीकार गरेका छन्।
गत पुस १८ गते आफूले नै सुस्मिताको ठाकुरबाबा नगरपालिका–४ स्थित बबई नदीको बगर क्षेत्रको खरखरियाको झाडीमा पुर्याएर हत्या गरेको बयान दिएका छन्।
‘हाम्रो सम्बन्धपछि उसले प्रत्येक पटक पैसा मागिरहन्थी,’ गोपीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘पैसा नपाउँदा मुद्दामा फसाइदिन्छु भनेर धम्की दिइरहन्थी।’
आफू बलात्कारजस्ता मुद्दाबाट जोगिन पनि एकान्तमा बोलाएर उनले सुष्मिताको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बयानका क्रममा भनेका छन्।
सुस्मिताले पछिल्लो समय आफूलाई विवाह गरेर घरमा लैजान भनेकी थिइन्। तर दुवै जना विवाहित थिए।
प्रहरीले गरेको विभिन्न प्राविधिक विश्लेषण र गोपीले गरेको बयानका आधारमा प्रहरीले फुटकर ज्यान मुद्दालाई कर्तव्य ज्यानमा मुद्दा परिणत गरी मुद्दा अगाडि बढाएको छ।
जिल्ला अदालतले सुरूमा घटना अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो। त्यसपछि दोस्रो पटकका लागि दश दिनको थप म्याद दिएर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
प्रहरीले सुस्मिता हत्या मुद्दाको प्रतिवेदनलाई अन्तिम रूप दिएर सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको छ।