किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको छ। उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको हो।
बान्ता गरेको र पेट दुख्यो भनेपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
भदौ १३ गते शुक्रबार किरणले खानेपानी मन्त्रीलाई धम्की दिएको अडिओ सार्वजनिक भएको थियो।
मन्त्रीले स्वकीय सचिवमार्फत् दिएको उजुरीको आधारमा प्रहरीले भदौ १४ मा उनलाई वीरगञ्जबाटै पक्राउ गरेको थियो।
उनीविरूद्ध साइबार अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र अफवाह फैलाएको आरोप छ।
अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पहिलो पटक तीन दिनको म्याद लिएको प्रहरीले थप तीन दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको छ।
मंगलबार साँझ पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।
सुधार भएपछि राति नै फिर्ता ल्याइएको थियो। तर बिहान पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।
बाराको कलैया घर भई वीरगञ्ज डेरा गरी बस्दै आएकी २२ वर्षीया किरणले पक्राउ परेको दिनदेखि नै ठोस खानेकुरा खाएकी छैनन्। झोलिलो खानेकुरा मात्रै खाइरहेकी छिन्।