काठमाडौं प्रहरीले बिटदेखि वृत्तसम्म स्तरउन्नति गर्न कार्यक्रम सञ्चालन गरेको छ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले काठमाडौं महानगरपालिका-१८ ताम्सीपाखामा बनेको नयाँ बिटको उद्घाटन गरेका छन्।
वडाध्यक्ष न्हुच्छेकाजी महर्जनसँग छलफल गरी योजना बनाइएको थियो। वडाको सहयोगमा उक्त बिट निर्माण भएको हो। उक्त बिट प्रहरी वृत्त जनसेवा अन्तर्गत पर्छ।
यसअघि त्यहाँ टिनले बनेको बिट थियो। जहाँ बस्न समेत समस्या हुने गरेको प्रहरी बताउँछ।
काठमाडौं अन्तर्गत ७३ वटा बिटहरू छन्। त्यसमध्ये दुई दर्जन बिटमा बस्ने ठाउँ दयनीय अवस्था रहेको एसएसपी विश्व अधिकारीले बताए।
‘जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत ७३ वटा प्रहरी बिटहरू छन्। यो बिटहरूमा बस्ने प्रहरी सबैभन्दा बढी खटिनुपर्ने, सबैभन्दा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, सबैभन्दा बढी जनगुनासोलाई सम्बोधन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यी बिटहरूको अवस्था के छ भन्दा ७३ वटा मध्ये दुई दर्जन बिटहरूको अवस्था भौतिक पूर्वाधारको हिसाबले एकदमै जीर्ण रहेकाले अध्ययन नै गर्यौं।’
उनका अनुसार अहिले काठमाडौंमा वृत्तदेखि बिटसम्म, बिटदेखि वृत्तसम्म भन्ने कार्यक्रम चलाएको उनले बताए।
‘त्यसरी हामीले बिटलाई कसरी स्तरउन्नति गर्न सकिन्छ भनेर ताम्सिपाखा वडा नम्बर १८ का वडाध्यक्ष, सदस्य, जनप्रतिनिधिसँग बसेर छलफल गर्यौं। त्यसपछि जीर्ण बिटलाई ऐतिहासिक महत्व झल्किने खालको बनाइएको छ,’ उनले भने।
यसरी नै क्रमश: अन्त पनि बिट स्तरउन्नति गर्दै जाने उनले बताए।
-1757055012.jpg)