झुक्क्याएर डेढ महिनाको अन्तरालमा दुई जना नेपाल आर्मीका युवाहरूसँग बिहे गरी गरगहना र नगद ठगी गरेको आरोपी महिला पक्राउ परेकी छन्।
अछामकी परिवर्तित नाम २३ वर्षीया सपना शाहीलाई शुक्रबार बिहान सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० बसपार्क क्षेत्रबाट पक्राउ गरेको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी मोहनजंग बुढथापाले सेतोपाटीलाई बताए।
‘बसबाट आउँदै गरेको अवस्थामा उहाँलाई फेला पारी बसपार्कबाट बिहान नियन्त्रणमा लिइएको हो,’ डिएसपी बुढथापाले भने, ‘उहाँले नक्कली बिहे गरी नगद र गरगहना ठगी गरेकोबारे थप अनुसन्धान हुन बाँकी छ।’
नक्कली बिहे गराउँदा बाबुआमाको भूमिका निर्वाह गरेको आरोपमा यसअघि नै प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा सदाशंकर होटलका सञ्चालक ४० वर्षीय गोपालकुमार विक र ३८ वर्षीया भविसरा रास्कोटी मगर दम्पतीलाई भदौ १७ गते पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
दैलेख घर भई विक दम्पती सुर्खेतमा होटल चलाउने गरेको तथा उनीहरूले सामाजिक सञ्जाल फेसबुक लगायत माध्यमबाट विभिन्न व्यक्तिहरूसँग बिहेको कुरा गर्थे। बिहेको निर्क्यौल भएपछि उनीहरू नक्कली आमा–बुवा तथा छोरी बन्थे। बिहेपछि सपना नगद तथा गरगहना लगेर बेपत्ता हुन्थिन्। ठगीको अनौठो स्वरूपबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानपछि फरकफरक मितिमा विभिन्न पुरूष व्यक्तिसँग एउटै महिलाले बिहे गरेको खुल्न आएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी बुढथापाले बताए।
‘फरक–फरक मितिमा एउटै महिलाको विभिन्न व्यक्तिहरूसँग बिहे गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ बुढथापाले भने, ‘त्यसरी बिहे गरी वा गराई ठगी गरेको तथ्य अनुसन्धानबाट खुल्न आएको छ।’
पछिल्लो समय साउन ३० गते बाजुराका २८ वर्षीय परिवर्तित नाम रोहित राउदले त्रिवेणी नगरपालिका–९ स्थित आफ्नै गाउँमा लगेर सपनासँग सांस्कृतिक परम्पराअनुरूप धुमधामको बिहे गरेका थिए।
बिहेपछि भदौ १० गते नेपाली सेनाका जागिरे राउद दम्पती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित होटलमा जान्छन्। सो होटल दैलेखका घर भई सुर्खेत बस्दै आएका ४० वर्षीय गोपालकुमार विक र ३८ वर्षीया भविसरा रास्कोटी मगर दम्पतीले सञ्चालन गर्दै आएका छन्। सोही होटलमा सपनाले काम गर्दै आएकी थिइन्।
प्रहरीसँग बयानमा विक दम्पतीले सपना धर्मपुत्री भएको बयान दिएका छन् भने सपनाका श्रीमान रोहितलाई भने आफ्नै छोरी बताएका छन्। तर खासमा उनी सो होटलमा काम गर्ने कर्मचारी भएको बुझिएको छ।
रोहितले आफ्नो ससुराली मानेकै कारण बिहेपछि माइती मान्न उनीहरू खसी लिएर पुगेका थिए।
बिहेपछि रोहित र सपना हप्ता दिन जति सँगै बस्छन्। सो क्रममा सपनाले पहिले काठमाडौं पढिरहेको हुँदा फेरि पढ्ने इच्छा व्यक्त गर्छिन्। रोहितले सपनाका बुबाआमासँग सल्लाह गर्छन्। विक दम्पती पनि राजी भएपछि उनले सपनालाई पढ्नका लागि डेढ लाख जति रकम दिएर काठमाडौं पठाउँछन्। सपनाले बिहे गर्दाको गरगहना पनि सँगै लिएर जान्छिन्।
अर्कातर्फ रोहित पनि आफ्नो कामका लागि ब्यारेकतिर फर्कन्छन्।
सपना काठमाडौं गएको केही समयसम्म पनि सपना र रोहितका बीचमा निरन्तर सम्पर्क भइरहन्छ। तर केही समयपछि भने सपना सम्पर्कविहीन हुन्छिन्। त्यसपछि उनले सपनाको खोजी गर्छन्। वीरेन्द्रनगरस्थित होटलमा विक दम्पतीलाई खोज्दै पुग्छन् तर रोहितले कसैलाई भेटाउँदैनन्।
विभिन्न उपाय लगाएर सपना र उनको परिवारलाई खोज्दा पनि नभेटेपछि रोहितले बल्ल आफू ठगी चाल पाउँछन्। तीन दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गएर उनले उजुरी दिन्छन्।
अनौठो ठगीको स्वरूपबारे उजुरी परेपछि प्रहरीले पनि घटनाबारे अनुसन्धान गर्छ।
अनुसन्धानका क्रममा डेढ महिना पहिला पनि सपनाले रोहितलाई जस्तै गरी जाजरकोटका अर्का एक नेपाली सैनिकसँगै बिहे गरेको भेटिएको प्रहरी प्रमुख डिएसपी मोहनजंग बुढथापाले बताए।
ती नेपाली सेनाका जागिरे रहेका व्यक्तिले त्यतिबेला आफूमाथि ठगी भएको भनेर मौखिक जानकारी गराएता पनि लिखित उजुरी आज मात्रै दिएको प्रहरीले जनाएको छ।
ती नेपाली सेनाका जागिरेका व्यक्तिले सपनासहित नक्कली आमाबुबाविरूद्ध किटानी जाहेरी दिएका छन्।
‘रोहितसँग जस्तै गरी डेढ महिना पहिले जाजरकोटका युवाले पनि सपनासँग धुमधाम बिहे गरेको खुलेको छ,’ डिएसपी थापाले भने, ‘जाजरकोटका ती आर्मीका जागिरेलाई पनि सपनाले पढ्न जान्छु भनेर गएको रहेछ। त्यसपछि सम्पर्कविहीन भएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।’
अहिलेसम्म अनुसन्धान गर्दा सपनाले तीन जना व्यक्तिसँग फरक-फरक मितिमा नक्कली विवाह गर्दै ठगी गरेको खुलेको छ।
अहिले सपनाको खोजी भइरहेको डिएसपी बुढथापाले बताए।
नक्कली आमाबुबा बनेका विक दम्पत्ति जाहेरीपछि पक्राउ परिसकेका छन्।
उनीहरूविरूद्ध आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अर्का एक जना व्यक्तिले पनि आफूलाई सपनाले त्यसैगरी झुक्क्याएर ठगी गरेको अवगत गराए पनि हालसम्म उनी जाहेरी दिन भने आएका छैनन्।
पक्राउ परेका होटल सञ्चालक बिक दम्पती, सपनामाथि आपराधिक लाभ तथा ठगी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी बुढथापाले जानकारी दिए।