मधेस प्रदेशमा फरार प्रतिवादीको संख्या २६ हजार ८३ रहेको छ।
फरार प्रतिवादी पक्राउ गर्नु मुख्य चुनौती रहेको नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले प्रतिवादी नखुलेका अवस्थामा उनीहरूको पहिचान र प्रमाण संकलन गर्नु झनै चुनौतीपूर्ण रहेको बताए।
‘कुनै पनि घटनामा तत्काल प्रमाण संकलन र विश्लेषण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘जति समय बित्दै जान्छ, घटनामा संलग्न व्यक्ति पहिचान गर्न निकै कठिन हुन्छ।’
संघीय प्रहरी मातहत रहनेगरी स्थापना गरिएको कार्यालय यसअघि जनकपुरमा थियो। २५ साउनदेखि वीरगञ्जस्थित मुर्ली भवनमा कार्यालय सरेको जानकारी उनले दिए।
जिल्ला प्रहरी कार्यालय पर्सा परिसर सहित कार्यालयको नाममा ५ विघा, १६ कठ्ठा ०४ धुर जमिन छ।
कार्यालयलाई अपराधको अभिलेखीकरण, विश्लेषण र कार्ययोजना निर्माण, क्राइम एक्सन प्लान (क्याप) अनुगमन र निर्देशन दिने लगायतको जिम्मेवारी दिइएको छ।
कार्यालयको काम, कर्तव्य र जिम्मेवारीको विषयमा जानकारी दिन प्रहरी बरिष्ठ उपरीक्षक कोइरालले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम राखेका थिए।
कार्यक्रममा उनले १ सय ९९ जना दरबन्दी रहेको कार्यालयमा १ सय २० जना कार्यरत रहेको र अपराध अनुसन्धानमा दक्षता हासिल गरेका कर्मचारीहरू थपिने जानकारी गराए।
‘दक्ष जनशक्तिहरू आइसकेका छैनन्, तालिमप्राप्त, अपराधमा विशेषज्ञता हासिल गरेका जनशक्ति मात्रै कार्यालयमा आउँछ,’ प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले भने।
प्रदेशका ८ वटा जिल्ला प्रहरी कार्यालयसहित ३९ इकाइहरूमा ‘पेन्डिङ’ रहेका मिसिलहरूको अध्ययन गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताए।
‘९५ वटा मिसिलको अध्ययन गरेर आवश्यक निर्देशन दिइसकेका छौं,’ उनले भने।
साविकमा अञ्चल प्रहरी कार्यालय रहेको मुर्ली भवन जीर्ण अवस्थामा रहेको र जताततै झार उम्रेको अवस्थामा रहेकोमा मर्मत सम्भार र रंगरोगन गरेर कार्यालय स्थापना गरिएको उनको भनाइ छ।