ललितपुरको हरििसिद्धीमा मन्त्री सवार गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका-२८ डेरा गरी बस्ने ११ वर्षीया उषा मगर सुनुवारलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।
उपचारपश्चात उनी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।
एसपी जोशीका अनुसार बालिकाको गाला र घुँडामा चोट लागेको थियो।
'तत्कालै अस्पताल पुर्याएर उपचार गरिएको थियो। अहिले डिस्चार्ज भइसक्नुभएको छ,' एसपी जोशीले सेतोपाटीसँग भने।
बालिकालाई ठक्कर दिएर मन्त्रीको गाडी फरार भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए।
पछि वडा कार्यालयमा ललितपुरका सिडिओसहितको रोहबरमा भएको छलफलबाट घाइतेको सम्पूर्ण खर्च सरकार तथा सम्बन्धित पीडक पक्षबाट ब्योहर्ने गरी सहमति भएको थियो।
मन्त्री मगर एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले ब्यहोर्ने बताएका छन्।
बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी हुँइकिएको थियो मन्त्री सवार गाडी
-अक्षर काका
ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको भेटिएको छ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज सेतोपाटीले प्राप्त गरेको छ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो।
ठक्करबाट बालिका गाडीको नजिकैबाट पछारिएकी थिइन्।
बालिका सडकमै लडेपनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ।
गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ।
ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार छिन्। उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ।
मन्त्री मगरले पनि सेतोपाटीसँगको कुराकानीमा घाइते बालिकाको अवस्था बुझ्न आफू अस्पताल आएको बताएका छन्।
मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको एसपी जोशीले जानकारी दिए।
एमालेबाट मन्त्री भएका जोशी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन शनिबार बिहान गोदावरी जाँदै थिए।