सामाजिक सञ्जाल बन्दको विरोध गर्दा समातिएका ५ पाँच जनालाई प्रहरीले छाडेको छ।
शनिबार दिउँसो बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स, लगायत २५ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ। सो निर्णयको विरोधमा काठमाडौंको बानेश्वरमा शनिबार युवाहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शन गर्दा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ५ युवालाई नियन्त्रणमा लिएको थियो।
ती पाँचै युवालाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।
'निषेधित क्षेत्रमा प्रदर्शन गर्दा नियन्त्रणा लिएका थियौं। अहिले छुटिसकेका छन्,' उनले भने।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ।
अहिले नेपालमा दर्ता भएका भाइबर, टिकटक लगायत सामाजिक सञ्जाल मात्रै सञ्चालनमा छन्।