काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार भएको घटनामा तीन जना पक्राउ परेका छन्।
गत साउन १२ गते गोकर्णेश्वरी नगरपालिका-६ बौद्ध नयाँबस्तीको एउटा क्याफेबाट निस्किएका युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार भएको थियो।
घटनाको अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भई गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीय लोप्साङ बोम्जोन लामा, सोही वडामा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका २६ वर्षीय सुमन तामाङ र ३० वर्षीय कुमार तामाङ छन्।
उनीहरूलाई अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बाट शनिबार पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौं ल्याउँदै गरिएको पनि एसपी आचार्यले जानकारी दिए।
'के कारणले खुकुरी प्रहार गरिएको भन्नेकुरा अब अनुसन्धान गरेपछि थाहा होला,' एसपी आचार्यले भने, 'यस सामूहिक घटनामा अझै एक जना पक्राउ पर्न बाँकी छन्।'
राति ९ बजेतिर नयाँबस्तीको क्याफेमा खाजा खाएर बाहिर निस्किएका जितबहादुर मोक्तान नाम गरेका युवकमाथि खुकुरी प्रहार गरेका थियो।
उनी गम्भीर घाइते भएका थिए। लामो समयको अस्पतालको बसाइँपछि मोक्तान डिस्चार्ज भइसकेका छन्। तर उपचार चलिरहेको एसपी कार्कीले जानकारी दिए।