कारागारबाट भागेका कैदी/बन्दी र सुरक्षाकर्मीबाट लुटिएका हतियारका कारण सर्वसाधारण त्रसित छन्। त्यस्तै चिन्ता वन्यजन्तु संरक्षणमा पनि बढेको छ।
गत बुधबार बिहान भरतपुर कारागारबाट करिब ७ सय कैदीहरू भागेका थिए। कुल ७ सय ४० कैदी/बन्दी रहेकोमा भाग्न नचाहेकालाई पनि कारागारले घर पठाएको थियो। शनिबार बिहानसम्ममा भागेकामध्ये १८० जना कारागार फर्किसकेका छन्। सुरक्षाकर्मीहरूले अन्यको खोजी गरिरहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले देशमा देखिएको राजनीतिक अस्थिरताको असर संरक्षणमा पर्न नदिन सक्दो प्रयास भइरहेको बताए।
‘उपलब्ध जनशक्ति, हात्ती तथा भएका सबै साधन स्रोतको अधिकतम उपयोग गरेर काममा खटेका छौं,’ पन्तले सेतोपाटीसँग भने, ‘अपराधमा संलग्न भएको पुष्टि भएर सजाय भोगिरहेका व्यक्ति भागेको विषयले चिन्ता थपिएको छ। आन्दोलनको क्रममा सुरक्षाकर्मीका हतियार हराएको सुनिएको छ। त्यसको दुरूपयोग हुनसक्ने सम्भावना पनि छ। निकुञ्ज प्रशासन र सुरक्षार्थ खटेको नेपाली सेना यस विषयमा सचेत छौं।’
देशमा अस्थिरता बढ्दा जैविक विविधता जोखिममा पर्ने गरेको इतिहास छ।
माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको समय (आर्थिक वर्ष २०५७/०५८) मा चितवन राष्ट्रिय निकुञ्जका ३७ वटा एक सिंगे गैंडा सिकारीले मारेका थिए।
२०६२ सालसम्मै खागका लागि गैंडा मार्नेक्रम बढेको थियो। राजनीतिक संकट र अस्थिरताको कारण निकुञ्जभित्र सुरक्षा पोष्टहरू संकुचन हुँदाको फाइदा सिकारीले उठाएका थिए। अहिले जेन–जीको आन्दोलनपछिको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना अग्रसर भएको छ। सेनाको जिम्मेवारी फराकिलो बन्दा निकुञ्जको सुरक्षा कम प्राथमिकतामा पर्न सक्ने संरक्षणकर्मीहरू बताउँछन्।
प्रमुख संरक्षण अधिकृत पन्तले वन्यजन्तु अपराधमा संलग्न प्रमाणित भएकाहरू सजाय पूरा नगरी छुट्दा समस्या आउनसक्ने बताउँछन्।
‘२०६३ पछि चोरी सिकारी नियन्त्रण हुँदै आएको थियो। अस्थिरता बढ्यो भने फेरि समस्या हुन्छ कि भन्ने चिन्ता स्वाभाविक हो,’ उनले भने, ‘हामीले छुटेका कैदीहरूको विवरण संकलन गरेर निगरानी बढाएका छौं।’
पन्त वन्यजन्तु अपराधमा संलग्नहरू सजाय कटाएपछि फेरि त्यही काममा फर्किएको तथ्यहरू निकुञ्जसँग रहेको बताउँछन्।
निकुञ्जसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिहरूको अपराधको रेकर्ड कार्यालयमा रहेकाले त्यसलाई हेरेर निगरानी बढाइएको उनले बताए।
‘कानुनले हामीले समातेर ल्याएर थुन्न दिँदैन त्यसैले हामीले उनीहरू फेरि अपराधमा नफर्किऊन् भनेर सचेत बन्ने काम गरिरहेका छौं,’ उनले भने, ‘केही त फर्किसकेका पनि छन्। केहीलाई २–३ दिनको समय दिएका छौं।’
चितवन निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातले पनि राजनीतिक अस्थिरताको असर निकुञ्जभित्र पर्न नदिन नेपाली सेना प्रतिबद्ध रहेको बताए।
‘भागेका कैदीहरूलाई नियन्त्रणमा लिन थालिएको छ। हामीले वन्यजन्तु अपराधमा संलग्न कैदीहरूको निगरानी पनि बढाएका छौं,’ गणपति बस्न्यातले भने, ‘निकुञ्जभित्र मात्रै सीमित हुन मिल्ने समय छैन। सबैतिर बाँडिनुपर्दा जनशक्ति कम हुने नै भयो। तर पनि निकुञ्ज संरक्षणमा असर पर्न दिँदैनौं।’
भरतपुर कारागारबाट भाग्नेमा ५० जना एक सिंगे गैंडासँग सम्बन्धित अपराधमा संलग्नहरू रहेको कारागार प्रमुख रविन्द्रप्रसाद ढुंगानाले जानकारी दिए। उनकाअनुसार भागेका सबैलाई फिर्ता ल्याउन कारागारले पनि प्रयास गरिरहेको छ।
‘हामीले परिवारको सम्पर्क नम्बरमा फोन गरेर फिर्ता आउन आग्रह गरिरहेका छौं। आइरहनुभएको पनि छ। सुरक्षाकर्मीहरू पनि यसमा लागिरहनुभएको छ,’ उनले भने, ‘आफै फर्कनेलाई फरक व्यवहार गर्दैनौं भनेका छौं। समातेर ल्याउनुपरे समस्या आउनसक्छ भन्ने सन्देश पुर्याएका छौं।’
भरतपुर कारागारबाट भागेका ४ जना कैदीलाई भारततिर भाग्दै गरेको अवस्थामा बेलहिया नाकाबाट नियन्त्रणमा लिएर फिर्ता ल्याएको थियो।
देशका अन्य कारागारबाट पनि कैदी/बन्दीहरू भागेका छन्। आन्दोलनको क्रममा सुरक्षाकर्मीको हतियार, सञ्चार सेटहरू लुटिएका पनि छन्।
जिल्ला सुरक्षा समिति चितवनले पनि सूचना जारी गरेर भागेका कैदीलाई फिर्ता हुन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कारगारबाट बाहिर निस्किएका कैदी/बन्दीहरूलाई इमानदारितापूर्वक फर्कन आग्रह गरिएको बताए। उनले सुरक्षाकर्मीको हातहतियार, गोलीगठ्ठा तथा सञ्चार सेटहरू लगेकाहरूलाई ल्याएर बुझाउन आग्रह गरिएको बताए।