भदौ २४ गतेको प्रदर्शनका क्रममा सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिहरूका सयौं निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भयो।
आन्दोलनपछि देशका सबै जिल्लाहरूमा अवस्था सामान्य बन्दै गइरहेको छ भने आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेहरूका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक पनि भइरहेका छन्।
तस्बिर र भिडियो सार्वजनिक हुन थालेपछि कतिपयले आन्दोलनको क्रममा लगेका सामानहरू फिर्ता गर्न थालेका छन्। कतिपय स्थानमा स्थानीयले आन्दोलनको क्रममा लुटेर र चोरेर लगेका सामानहरू खोजी गरी फिर्ता गराइ रहेका छन्।
सोही क्रममा बाँकेको कोहलपुरमा पनि सरकारी कार्यालय र व्यक्तिका घरबाट लुटेर लगिएका सामान र नगद फिर्ता गराइएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार भदौ २४ गते कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित राजस्व अनुसन्धान कार्यालयबाट लुटपाट गरी लगिएको सुन चाँदी र नगद स्थानीयको पहलमा प्रहरीलाई फिर्ता गरिएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीय समाजका अगुवाहरूको पहलमा २ लाख ५२ हजार ६२६ रुपैयाँ नगद, ४२१.३२ ग्राम सुन र ९.९८४ किलोग्राम चाँदी फिर्ता गरिएको हो। प्रहरीका अनुसार लुटिएको नगदमा नेपाली १ लाख १७ हजार ६५० नेपाली रुपैयाँ र ८४ हजार ३६० भारतीय रुपैयाँ छ।
कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले प्रहरी र स्थानीय समाजका अगुवाहरूको पहलमा सोमबार राति ८ बजेतिर उक्त नगद र सुनचाँदी फिर्ता गराउन सकिएको जानकारी दिइन्।
कोहलपुर नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय अजय परियार समेतका व्यक्तिहरूले सोमबार राती प्रहरीमा ल्याई सुन, चाँदी र नगद रकम ल्याई बुझाएपछि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, स्थानीय जनप्रतिनिधि र समाजसेवीको समेत रोहबरमा मुचुल्का उठाएर सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक खनालले बताइन्।