काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान ३ः४२ बजे काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर धम्क्याउँदै मोबाइल लुटपाट गरी फरार भएका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिक भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई हाल कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेको पनौती नगरपालिका–१२ घर भई हाल कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा महानगरपालिका घर भई हाल कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ छन्।
प्रहरीले उनीहरूको साथबाट लुटपाट गरिएका मोबाइलसमेत बरामद गरेको छ।
उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।