घटस्थापना आउन दुई दिन मात्रै बाँकी छ। जसरी नेपालीहरूलाई चाडपर्वले छपक्कै छोपेको छ, त्यसैगरी तातोपानी नाका सम्वद्ध व्यापारीहरूलाई पहिरोले छोपेर रून मात्रै सकेका छैनन्। उसै त २०७१ सालको जुरो पहिरोबाट धरमर-धरमर चलिरहेको तातोपानी नाका गत साउन ६ गते भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा आएको पहिरोले ठप्पप्राय: छ।
बाह्रबिसेदेखि माथि लागेपछि भेटिन थाल्छ लेदोसहितको पहिरो। घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लेदोसहितको पहिरो बगिरहेको छ। यीमध्ये तीन वटा पहिरोले दसैँका लागि आएका सामानहरू अड्किएका छन्, इको, पान्थली र डाक्लाङ।
देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि बिहीबार सडक विभागको टोली स्थलगत अनुगमनमा गएको थियो।
सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, सुभराज न्यौपानेलगायत टोलीले त्यहाँको स्थानीय, व्यवसायीसँग बिहीबार तातोपानी भन्सारमा छलफल गरेको थियो।
उक्त छलफलमा दसैँ लक्षित सामान अड्किपछि व्यवसायीहरूले आक्रोशित देखिन्थे। करिब १ हजार ५ सय कन्टेनरमा दसैँ लक्षित आएको सामान अड्किएको शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए।
'फलफूल र लसुनलगायत सामान कुहिएको छ,' शेर्पाले भने, 'कतिपय कन्टेनर चीनमै अड्किएको छ भने कतिपय नेपाल भित्रिएर पनि काठमाडौं पठाउन सकिएको छैन।'
व्यवसायी शेर्पाका अनुसार दसैँ लक्षित सामान ल्याएको शिल्कको मात्र करिब ८/९ सय वटा कन्टेनर फसेको छ। सामान लोड गरेर चीनमा एउटा कन्टेनर राखेको करिब १२ देखि १४ हजार रूपैयाँ तिर्नुपर्ने शेर्पाले बताए। व्यवसायीको दसैँ अगाडि पुर्याउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूले ठूलो घाटा व्यहोर्नुपर्ने बताए।
'५० दिनदेखि सामान रोकिएको छ। दसैँ लक्षित लत्ताकपडा, रअ मेटेरियल धेरै मात्रामा फलफूल अड्किएको छ। सामान पठाउन सकिएको छैन,' शेर्पाले भने।
'कतिपय फलफूल बोकाएर पहिरो तारेका थियौँ। एउटा पहिरो तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किन्छ। अहिले फेरि डाक्लाङमा पहिरो गएर त्यहाँ पनि बोकाउनुपर्ने स्थिति आयो। अब व्यवसायीले काम गर्न नसक्ने स्थिति भयो,' शेर्पाले दुखेसो पोखे, '३ वटा पहिरो कटाउँदा एक कन्टेनर बराबर करिब साढे तीन लाखदेखि ४ लाख बढी खर्च आउँछ। त्यसरी काम गर्न सकिँदैन। बरू कुहिएर जाओस् तर बोकाएर पहिरो कटाउन सक्ने स्थिति भएन।'
उनका अनुसार यस भन्दाअघि इको पहिरोमा भरिया लगाएर सामान तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किएको थियो।
यसअघि सरकारको ढोका ढकढक्याउँदा पनि वास्ता नगरेको कारण तातोपानीको सडक नबनेको शेर्पाको भनाइ छ।
'पहिला सरकारले वास्ता गरेन। अहिले नयाँ सरकार आएपछि अनुगमनमा आउनु भएको छ सडक विभागको टिम। केही गर्नुहुन्छ कि!' शेर्पाले भने।
असार २४ मा चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएपछि त्यहाँको सबै सामान तातोपानी नाकामा आएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताए।
तातोपानीबाट पनि सम्भव नभएपछि कोरला नाकाबाट कतिपय सामान ल्याइएको उनले बताए।
बुधबार २५ कन्टेनर सामान भन्सार भएको उनको भनाइ छ। राज्य मात्रै नभएर भूगोल र प्रकृतिले पनि साथ नदिएको बस्नेतले बताए।
'१२/१५ सय कन्टेनर चीनको भूभागमा अड्किएको छ। २/४ दिनमा सामान पुर्याउन सकिन्छ भन्ने आश अझै बाँकी छ,' बस्नेतले भने, 'नेपालमा अन्य ठाउँमा पुर्याउन नसके पनि काठमाडौं आसपास पुर्याउन सकिन्छ कि भन्ने लाग्छ।'
केरूङ, ल्हासा, सिगात्से, न्यालम, खासा र नेपालमा लोड भएर बसेका कन्टेनरका सामान लैजान नसकिएको उनले बताए।
उनका अनुसार ५० अर्ब रूपैयाँ बराबरको सामान फसेर बसेको छ। सामान बोकाएर पार गराउँदा महंगी बढ्ने उनको भनाइ छ।
'दुई महिना अगाडि साढे ३ सय रूपैयाँ किलोमा पाउने स्याउ अहिले साढे ४ सय रूपैयाँ पुगेको छ,' बस्नेतले भने, 'यो त फलफूलको मात्रै कुरा भयो, अरू सामानहरूको हालत पनि त्यस्तै छ। व्यवसायीले यत्रो समय ब्याज तिरेर बसेका छन् ती सबै जोड्छन्। ती सबै कस्ट जोडेर नै बजारमा पठाउँछन् सामान, त्यसैले महँगी बढ्छ। उपभोक्ता मारमा पर्छन्।'
कोरला नाकाबाट सामान ल्याउँदा पनि दुरीको हिसाबमा टाढा पर्ने उनको भनाइ छ।
उनका अनुसार कोरलाबाट काठमाडौं ४०० किलोमिटर पर्छ भने तातोपानीबाट काठमाडौं ११४ किलोमिटरमा पुगिन्छ।
तातोपानी नाका बन्द हुँदा दैनिक करिब ७ करोड रूपैयाँ राजस्व गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले बताए। तातोपानी भन्सारलाई सरकारले २४ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिएको छ।
वर्षा सुरू हुने बित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्या रहेको भोटेकोशी २ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए।
दिउँसो सडक बनाउने तर राति आएको पानीले सडक नै बगाउने समस्या भइरहेको उनले बताए ।
भूकम्प गएको सालदेखि इको पहिरो गए पनि सरकारले वास्ता नगर्दा यो स्थिति आएको पहिरो माथि बस्तीमा घर रहेका स्थानीय राजेश थामीले बताए।
'हिउँदमा काम गर्दैनन् जब बर्खा लाग्छ अनि तात्छ सरकार। जब बाटो बिग्रन्छ त्यतिबेला मात्रै आउँछ सडक डिभिजन। हाम्रो बस्ती जोगाएर बाटो बनाइदिनु होला,' उनले भने। उनका अनुसार ७०/८० घरधुरी समस्यामा रहेको छ।
पहिरोले गर्दा दसैँको मुखमा व्यवसायीहरू धेरै मारमा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका सचिव शम्भु तिमिल्सिनाले बताए।
'दसैँ आइसक्यो पहिरोले सामान बीचमै अड्किएको छ,' तिमिल्सिनाल भने, 'दसैँअघि सामान लैजान नसकिए व्यवसायीहरू डुब्छन्।'
कृष्णभीरको पनि समस्या समाधान गर्यौँ, यहाँको पनि गर्छौं: डा. विजय जैसी, महानिर्देशक, सडक विभाग
गत वर्षदेखि पहिरोको समस्या समाधन गर्न लागि परेका थियौँ। पहिला माथिबाट प्लास्टिक राख्यौँ। भित्रभित्र पानी जमेको भेटियो। पानी झिक्ने कोसिस गर्यौँ। वर्षाको समयमा पानी पर्नाले समस्या निम्त्यायो। बिहान दिउँसो काम गर्यो रातिको पानीले भोलिपल्टै उस्तै बनाउने भएकाले तत्काल बाटो बनाउन नसकिएको हो। तल खोलाले कटान पनि गरिरहेको छ।
हिजोको दिनमा हामीले कृष्णभीरको पनि समस्या समाधान गर्यौँ, अब यहाँको पनि गर्छौं।
इकोमा दुई किसिमले काम थालेका छौँ। एउटा अल्पकालीन र अर्को दीर्घकालीन। अल्पकालीन चाहिँ हामी २/४ दिनमै बाटो खोल्छौँ। दीर्घकालीनमा भने एक खालको डिजाइन हामीले गरिसकेका छौँ। त्यसलाई अपडेट गरेर काम सुरू गर्छौं। दुई महिनाभित्रमा ठेक्का निकाल्छौँ।
चिनियाँ पक्षले पनि यो बाटोको चासो देखाएको छ। उनीहरूले सुरूङ बनाएर पनि काम गर्न तयार छन्। सुरूङ नबनाएर अर्को तरिकाले सडक बनाऔँ भनेर पनि उहाँहरूले सोलुसन दिनु भएको छ। सुरूङ बनाउन स्थानीय तयार भएनन्। त्यसपछि बाहिरबाट सडक बनाउनुपर्छ भनेर चीन पनि लागिरहेको छ।
चिनियाँ पक्षसँग काम गर्दा फेरि समय लम्बिने हो कि भन्ने समस्या छ। अब मन्त्रालय गएर मन्त्रीज्यू र सचिवज्यूसँग कुरा गर्छु। नेपाली पक्षबाट काम गर्न पनि हामीलाई बजेटको समस्या छैन। अब यो नाकालाई महत्व दिएर दीर्घकालीन रूपमा सोचेका छौँ।