गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको रातोपुलस्थित एक घरमा तोडफोड, आगजनी गर्दै सुनचाँदी तथा नगद चोरी गर्ने घटनामा संलग्न तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुईचुम्पा–३ का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगर–५ का १८ वर्षीय अगम प्रजा छन्।
प्रहरीका अनुसार भदौ ३१ गते साँझ ४:३० बजेको समयमा रातोपुलमै शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएका तीन जनालाई डेराबाट चोरीका सामग्रीसहित नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त मालिगाउँले थप अनुसन्धान गरिरहेको जनाएको छ।
उनीहरूबाट विभिन्न सुन–चाँदीका गहना, मूर्तिहरू, पर्स, नगद १३ हजार ८५० रुपैयाँसहित ५० भन्दा बढी चोरीका सामानहरू बरामद भएका छन्।
पक्राउ परेकाहरूमाथि चोरी, लुटपाट र सार्वजनिक सम्पत्तिमा तोडफोडसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।