रात परेपछि तुइनखोलामा पहिरो पन्छाउने काम स्थगित गरिएको छ।
आज दिनभर प्रयास गरिए पनि रातिसम्म पहिरो पन्छाउन नसकेपछि आइतबार बिहानबाट काम सुरू गर्नेगरी स्थगित गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
शुक्रबार साँझदेखि भिरबाट सडकमा ढुंगा खसिराखेपछि पहिरो पन्छाउन सकस भएको थियो।
बिहानबाट पहिरो थामिँदा पन्छाउने, झर्दा रोक्ने गर्दै काम गरेको कार्यालयका सूचनाका अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए। तर रातिसम्म पनि पन्छाउन नसकेपछि बिहानबाट पुनः सुरू गर्ने गरी काम स्थगित गरिएको छ।
तुइन खोलामा झरेको पहिरोका कारण नारायणघाट–मुग्लिन सडक बन्द भएको २४ घण्टा पुगेको छ। सडक बन्द हुँदा हजारौंको संख्यामा सवारी साधनहरू रोकिएका छन्। यात्रुहरू बाटैमा अलपत्र बनेका छन्।
इन्जिनियर आचार्यले लोडर र एक्साभेटर मार्फत् पहिरो पन्छाउन दिनभर प्रयास गर्दा पनि सम्भव नभएको बताए।
‘अहिले रात परेकाले माथिबाट ढुंगा झरेको पनि देखिँदैन। त्यसैले काम गर्न सकिएन। उज्यालो हुनेबित्तिकै काम सुरू गर्छौं। ढुंगा खसेन भने बिहान १० बजेसम्म सडक खुलाउने तरिकाले काम गर्छौं,’ आचार्यले भने।
उनले बेला–बेलामा ढुंगा खसिरहेकाले नियमित काम गर्न नसकेको बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले साँझसम्म पहिरो पन्छाउन प्रयास गरे पनि सम्भव नभएको बताए।
‘लगातार काम गर्न पाएको भए पन्छाउन सकिन्थ्यो। तर पहिरो झरिरहेकाले सुरक्षित हुँदै काम गर्दा धेरै समय लाग्यो,’ उनले भने।
उनले यात्रुहरूलाई अति आवश्यक काम परेमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरे।
नारायणघाट–मुग्लिन सडक चितवन तथा पूर्व–पश्चिम नेपाल सवारी साधनहरु देशको राजधानी काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण राजमार्ग हो। यसको विकल्पमा पश्चिमका यात्रुहरु पोखरा हुँदै, पूर्वका यात्रुहरू हेटौंडा तथा सिन्धुली हुँदै काठमाडौं जान मिल्छ।
चितवनको शक्तिखोरबाट पृथ्वी राजमार्गको फिस्लिङ निस्कन मिल्ने सडक पनि छ। यो सडकमा साना सवारी साधनहरुमात्रै चल्न सक्छन्।
दुई वर्षअघि तुइन खोलामा नयाँ पुल निर्माण गर्नेक्रममा पहरो फोरिएको थियो। पहरो फोरिएकै आडबाट पहिरो झर्न थालेको हो। यहाँ गत वर्ष पनि पहिरो झरेको थियो।