काभ्रेमा बारीमा गाडेको अवस्थामा एक महिलाको शव भेटिएको छ।
पनौती नगरपालिका-१२ की ३० वर्षीया मनिषा घ्यावा तामाङ (जमुना) को शव आइतबार गाडिएको अवस्थामा भेटिएको हो।
स्थानीयहरूले बारीमा खाल्डो खानेको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए। हेर्दा त्यहाँ शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार मनिषाको घरबाट २ मिटर दुरीमा बारीमा खाल्डो खनेर गाडिएको अवस्थामा शव भेटिएको हो। तर श्रीमान भने फरार छन्।
'उनको श्रीमान सन्तबहादुर तामाङ फरार छन्,' उनले भने।
सन्तबहादुर भदौ २४ गते भएको आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए। त्यसपछि घरमा देखिएको छिमेकीहरूले बताएको १२ नम्बरको वडाध्यक्ष जयराम केसीले जानकारी दिए।
उनी बलात्कार मुद्दामा कारागारमा थिए।
'छिमेकीहरूले भनेअनुसार उनी कारागारबाट भागेर घर आएका थिए, श्रीमतीसँग झगडा भएको भन्ने सुनिएको छ,' वडाध्यक्ष केसीले भने।
मनिषा भने असोज २ गतेदेखि घरमा देखा परेकी थिइनन्। यसबारे प्रहरीले भने श्रीमानले नै हत्या गरेको हो वा होइन भनेर अनुसन्धान हुन बाँकी रहेको डिएसपी घलले जानकारी दिए।
'श्रीमान फरार छन्। तर उनले हत्या गरेका हुन वा होइन भनेर अनुसन्धान हुन बाँकी छ,' उनले भने।
उनीहरूको १२ वर्षीय छोरा र साढे २ वर्षकी छोरी छन्।