भदौ २४ गते आन्दोलनको क्रममा प्रहरी कार्यालय तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने १३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।
सोमबारसम्म कुल १३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
भदौ २३ गते जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन भड्किएको थियो। उक्त प्रदर्शनमा गोली चल्दा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो।
भदौ २४ गते भने देशभरि आन्दोलन भएको थियो। आन्दोलनको क्रममा प्रहरीका कार्यालय, व्यवसायिक भवन तथा निजी घरमा तोडफोड भएको थियो।
ललितपुरका प्रहरीका भवन, निजी भवनमा तोडफोड गर्ने र लुटपाट तथा हतियार चोर्ने १३ जना पक्राउ परेका हुन्।
ललितपुर-११ मा रहेको एक घरमा चार जना व्यक्तिहरू पसेर लुटपाट गरेका थिए। पाँच लाख ७६ हजार ४०० रुपैयाँ बराबरका सामानको चोरी गरी आगजनी गर्ने चार जना पक्राउ परेका छन्।
सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरी भारतीय नागरिक १८ वर्षीय सेराज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराका २१ वर्षीय साहाजात मिया र काभ्रेका २५ वर्षीय फुर्साङ लामा छन्।
त्यस्तै प्रहरी प्रभाग हरिसिद्धी ललितपुरबाट हतियार समेत लुटपाट भएको थियो।
त्यही हतियारसहित गोदावरीको ठैब बस्ने २४ वर्षीय दिपक राईलाई प्रहरीले पक्राउ गरेको छ। उनीबाट दुई वटा पेस्तोल र गोली बरामद भएको छ।
त्यसैगरी प्रहरी प्रभाग इमाडोलमा आगजनी तथा तोडफोड गर्ने ६ जना पक्राउ परेका छन्। तीन जनालाई लुभुबाट र तीन जनालाई इमाडोलबाट पक्राउ गरेको हो।
२० वर्षीय राजकुमार तामाङ, २२ वर्षीय गोकर्ण राई, २० वर्षीय कृष्णराज गिरी, ३१ वर्षीय सुनिलकुमार बस्नेत, २२ वर्षीय सरोज नेपाली र २१ वर्षीय नरेश तामाङ पक्राउ परेका हुन्।
उनीहरूबाट एक जोर प्रहरीको बुट, तिलहरी, झुम्का, मंगलसुत्र समेत बरामद गरेको छ।
त्यस्तै प्रहरी प्रभाग हनुमानस्थान कुपण्डोलमा तोडफोड र आगजनी गर्ने दुई जनालाई पनि पक्राउ गरेको छ।
सानेपा बस्ने २४ वर्षीय सृष्टि तामाङ र कुपण्डोल बस्ने २४ वर्षय धिरेन्द्र चन्द पक्राउ परेका हुन्।