दसैं मनाउन बाँकेबाट अछामतर्फ जाँदै गरेका एक किशोरको सवारी दुर्घटनामा ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
कोहलपुर नगरपालिका–२ बाँकेका १८ वर्षीय ऋतिक शाहीको उपचारका क्रममा सोमबार दिउँसो प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनी सवार मोटरसाइकलमा अछाम पञ्चादहल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाही पनि थिए। मोटरसाइकलको पछाडिबाट यात्रा गरिरहेका दमन गम्भीर घाइते भएका छन्। उनी हाल माया मेडिकल, छिन्चुमा उपचाररत छन्। बायाँ खुट्टा र छातीमा गम्भीर चोट लागेका कारण उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
दुर्घटना सोमबार दिउँसो करिब पौने १ बजेतिर भेरीगंगा नगरपालिका–१२ पाडुले नजिक भएको हो।
छिन्चुतर्फबाट सुर्खेततर्फ आउँदै गरेको ना.५ ख ५६०८ नम्बरको खाली ट्रकले लु.प्र.०३००१ प–३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए।
उनका अनुसार मृतक र घाइते आफन्त हुन् र दसैं मनाउन पुर्ख्यौली घर अछाम जाँदै गरेका थिए। ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।