मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकैको पहिरो पन्छाउन बुधबार दिनभरि लाग्ने भएको छ। तुइन खोलानजिकै मंगलबार बिहानैदेखि ढुंगासहितको सुख्खा पहिरो खसेको भए पनि बाटो एकतर्फी बनाउँदै यातायात सञ्चालन गरिएकामा दिउँसो एक्कासि ठूलो पहिरो खसेको थियो।
उक्त भीषण पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने हुँदा वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरूलाई सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।
‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै हिजो अपराह्न ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको । पहिरो पन्छाउनको लागि बुधबार दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारी धनीहरू एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ सडक डिभिजन भरतपुरले भनेको छ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैंको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ। यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ। मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ।
साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैंडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसकेको प्रकाशचन्द्र भट्टराईले जानकारी दिए।
मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ। खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ। मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ।
मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुंगे पुल तरेर मुग्लिन–नारायण सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ। मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले बताए।