तुइन खोलाको पहिरो बत्ती बालेर पन्छाइँदैछ। सडक डिभिजन कार्यालय भरतपुरले फ्लडलाइट बालेर पहिरो पन्छाउने काम भइरहेको जानकारी गराएको छ।
मंगलबार साँझ झरेको पहिरो बुधबार बिहानैदेखि पन्छाउन थालिएको थियो। बिहीबार पनि दिनभर पहिरो हटाउने काम भइरहेको छ। यसअघि रातको समयमा काम बन्द गर्ने गरिएकोमा बिहीबार भने राति ७ बजेदेखि बत्ती बालेर काम गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
नारायणघाट–मुग्लिन सडक ५० घण्टा अवरूद्ध हुँदा यात्रुहरू निकै समस्यामा परेका छन्।
यसअघि यही ठाउँमा गत शुक्रबार झरेको पहिरो करिब ४५ घण्टा लगाएर हटाएपछि आइतबार अपराह्न ४ बजेतिरबाट यातायात सञ्चालनमा ल्याइएको थियो। त्यसपछि पनि सानो पहिरो खसिरहँदा पहिरो हटाउँदै कहिले एकतर्फी, कहिले दुइतर्फी यातायात सञ्चालन हुँदै आएकोमा मंगलबार ठूलो पहिरो खसेपछि राजमार्ग पुनः ठप्प भएको थियो।
सडक डिभिजन भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले राति ९ बजेसम्ममा सडक खुलाउने गरी काम भइरहेको सेतोपाटीलाई जानकारी दिए।
पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एउटा एक्साभेटर, एउटा लोडर र मुग्लिन तर्फबाट दुइटा लोडर र एउटा एक्साभेटर प्रयोग गरी निरन्तर रूपमा काम गरिरहेको आचार्यले बताए।