तुइन खोलाको पहिरो पन्छाएर ५८ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा ल्याइएको छ।
यहाँ मंगलबार साँझ ठूलो पहिरो झरेपछि दिउँसो १ बजेदेखि नै सडक अवरूद्ध भएको थियो। बुधबार बिहानबाट पहिरो पन्छाउन थालिएकोमा बिहीबार राति पौने ११ बजे मात्र सडक खुलेको हो।
बिहीबार रात परेपछि पनि फ्लडलाइट बालेर काम गरिएको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए।
उनका अनुसार बिहीबार राति ७ बजेदेखि बत्ती बालेर काम गरिएको थियो। यसअघि रातको समय काम गर्ने गरिएको थिएन।
लामो समय सडक अवरूद्ध हुँदा यात्रुहरू निकै समस्यामा परेका थिए। हजारौं संख्यामा सवारी साधन रोकिएका थिए।
यसअघि यही ठाउँमा गत शुक्रबार झरेको पहिरो करिब ४५ घन्टा लगाएर हटाएपछि आइतबार अपराह्न ४ बजेबाट यातायात सञ्चालनमा ल्याइएको थियो।
त्यसपछि पनि सानो पहिरो खसिरहँदा कहिले एकतर्फी, कहिले दुइतर्फी यातायात सञ्चालन हुँदै आएको थियो। मंगलबार भने ठूलो पहिरो खसेपछि राजमार्ग ठप्प भएको थियो।
पहिरो पन्छाउन लागि नारायणघाट तर्फबाट एउटा एक्स्काभेटर, एउटा लोडर र मुग्लिन तर्फबाट दुइटा लोडर र एउटा एक्स्काभेटर प्रयोग गरी निरन्तर काम गरिएको इन्जिनियर आचार्यले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले सवारी साधनहरूलाई लेन नमिची अघि बढ्न आग्रह गरिएको बताए।