भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनमा प्रहरीले रबर र धातुको गरी ६ हजार राउन्डभन्दा बढी गोली चलाएको आन्तरिक रिपोर्टमा देखिएको छ।
दुई दिनमा कति गोली चले भन्ने विवरण संकलन गर्न प्रहरी प्रधान कार्यालयले डिआईजी दीपक रेग्मीको नेतृत्वमा आन्तरिक समिति बनाएको थियो।
समितिको रिपोर्टले काठमाडौं उपत्यकासहित देशभरि भएको प्रदर्शन नियन्त्रण लिन प्रहरीले अत्याधिक बल प्रयोग गरेको देखाएको हो।
रिपोर्टले धातुको गोलीमात्रै करिब चार हजार र रबरको गोली २५ सय राउन्डभन्दा बढी चलेको देखाएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रहरीले रबर र धातुको गोली चलाएको थियो।
प्रहरीले चलाएको गोली लागेर त्यसदिन संसद भवन अगाडि १७ जनाको मृत्यु भएको थियो। इटहरीमा दुई जनाले ज्यान गुमाएका थिए।
प्रदर्शनमा काठमाडौंमा मात्रै नभई देशका विभिन्न ठाउँमा भएका आन्दोलनमा गोली चलाएका थियो।
प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंमा मात्रै धातु र रबर गरी झन्डै तीन हजारभन्दा बढी गोली चलेको रिपोर्ट छ। प्रहरीले ८ हजारभन्दा बढी सेल अश्रुग्यास हानेको आन्तरिक प्रतिवेदनमा उल्लेख छ।
प्रदर्शनका क्रममा प्रहरीले ब्ल्यांक फायर समेत गरेको थियो। ब्ल्यांक फायर गर्दा पड्किने भए पनि त्यसमा गोली प्रयोग हुँदैन।
भदौ २३ गते संसद भवन अगाडि १७ जनाको मृत्यु हुनेगरी गोली चलेपछि भोलिपल्ट ध्वंसात्मक प्रदर्शन भएको थियो।
त्यसक्रममा सिंहदरबार, संसद भवन लगायत विभिन्न सरकारी कार्यालयहरू जलेका थिए।
बानेश्वरको संसद भवन भित्र र बाहिर पनि दुई प्रकारका टोली खटिन्छन्।
संसद भवनको कम्पाउन्ड बाहिरपट्टिको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिन्छ। काठमाडौं परिसर काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत छ र रानीपोखरी मातहत छ, जसको नेतृत्व एआइजीले गर्छन्।
भदौ २३ गते कार्यालयमा एआइजी थिएनन्। एआइजी टेक तामाङ अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डिआइजी ओम रानाले लिएका थिए। त्यो दिन धेरै प्रदर्शनकारीको मृत्यु भएपछि तत्काल एआइजी दानबहादुर कार्कीलाई खटाइएको थियो।
संसद भवनभित्रको सुरक्षा भने नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलले हेर्छ। संसद भवन र त्यहाँभित्र रहने सांसद र कर्मचारीको सुरक्षाको विषय थप संवेदनशील हुन्छ। त्यसैले त्यसको जिम्मेवारीमा रहेका प्रहरीले कमाण्डो तालिम समेत लिएका हुन्छन्। यो कार्यदल भने प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गत पर्छ। यसको पनि नेतृत्व एआइजीले नै गर्छन्।
प्रहरीका अनुसार भीड नियन्त्रण गर्न उसले पहिलो चरणमा लाठीचार्ज, अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्छ। त्यसपछि हवाइ फायर, छर्रा प्रहार, रबर बुलेट लगायत पनि प्रहार गर्छ। त्यसपछि मात्रै धातुको गोली प्रयोग गर्छ।
प्रहरीसँग त्यस दिन दुई खालका सेमी–अटोमेटिक (अर्धस्वचालित) राइफलहरू थिए — एउटा सेल्फ–लोडिङ राइफल (एसएलआर) र अर्को इन्डियन स्मल आर्म्स सिस्टम (इनसास)को राइफल। यी बन्दुकबाट ब्ल्यांक राउन्ड (कुनै गोली नराखी आवाज मात्र निकाल्ने गरी प्रहार) र लाइभ राउन्ड (गोली राखेर प्रहार)का लागि प्रयोग हुन्छन्।
बानेश्वरको संसद भवन अगाडि भएको प्रदर्शन क्रममा यिनै दुई वटा बन्दुक प्रयोग भएको प्रहरीको भनाइ छ।
सेमी–अटोमेटिक एसएलआरमा एउटा म्यागजिनमा २२ देखि २४ वटा गोलीसम्म राख्न मिल्छ। त्यस्तै इनसासमा २५ वटासम्म राख्न सकिने प्रहरीले एक अधिकृतले बताए।
घाइते वा मृतकको शरीरबाट निकालिएका गोली यी दुई हतियारभन्दा अरू नै बन्दुकबाट हानिएको हो वा होइन भन्ने फरेन्सिक परीक्षणबाट सहजै थाहा हुने प्रहरी अधिकृतहरूको भनाइ छ।
परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिन्छ।
यो पनि: जेन–जी प्रदर्शनमा पूर्वप्रधानमन्त्री ओलीले दाबी गरेजस्तो प्रहरीसँग नभएको स्वचालित हतियारबाट गोली चलेको हो?