दसैंको फूलपातीका दिन काठमाडौंबाट भरतपुर–७ स्थित घर फर्कँदै गरेका प्रदीप पौडेल पृथ्वी राजमार्गको कुरिनटारमै जाममा परे।
दिउँसो १२ बजेतिर रोकिएको गाडी साँझ ६ बजे बल्ल अघि बढ्यो। तैपनि उनी खुसी थिए।
तुइनखोलामा पहिरो खस्यो भन्ने सुन्ने बितिक्कै उनलाई लागेको थियो, यसपालिको दसैं सडकमै बित्ने भयो।
'धन्न केही दिन अघिजस्तो ५८ घन्टा लामो जाममा परिएन,' पौडेलले भने, 'मलाई त दसैं मान्न घर आइएला भन्ने लागेकै थिएन।'
तुइनखोलाको पहिरोले बर्खामा दुःख दिन थालेको तीन वर्ष भयो। र, भरत कुँवरले तुइनखोलाको पहिरोसँग सिँगौरी खेल्न थालेको पनि तीन वर्षै भयो।
कुँवर ट्राफिक प्रहरीका हवल्दार हुन्। २०७२ सालदेखि उनी ट्राफिक प्रहरीको लोडर चलाइरहेका छन्। बुधबार दिउँसो मैले सम्पर्क गर्दा उनी तुइनखोला आसपासै थिए।
'पहिरो झरिहाल्यो भने पन्छाउन सुरू गरिहाल्नुपर्छ। अरू बेला ट्राफिक व्यवस्थापनको काम गर्छु,' कुँवरले भने, 'चाडपर्वमा झनै बढी जिम्मेवारी हुन्छ। स्ट्यान्ड–बाई हुनुपर्छ।'
यसपालि तुइनखोलाको पहिरोले धेरै दुःख दिएकाले अझै सतर्क हुनुपर्ने उनले बताए।
'सुख्खा पहिरोले समस्या भइरहेका बेला वर्षा भइहाले थप समस्या हुन्छ। त्यसैले हामी स्ट्यान्ड–बाई छौं। सडक कार्यालयका मेसिनहरू पनि तयारी अवस्थामै छन्। पहिरो झरिहाल्यो भने तुरून्तै काम सुरू गरिहाल्छौं,' उनले भने।

कुँवरलाई हिजोआज दसैंको खुसीभन्दा पहिरोको चिन्ता बढी छ।
'चाडपर्व आउँदा खुसी त लागिहाल्छ। तर आफ्नो मात्रै हेर्न पाइएन। जिम्मेवारी त निर्वाह गर्नैपर्यो,' कुँवरले भने, 'पहिरो हेरेरै दिन बितिरहेको छ।'
उनका अनुसार पहिरोको काम गर्दा दुःख र जोखिम पनि उत्तिकै हुन्छ। यसैपालि तुइनखोलाको पहिरो पन्छाउँदै गर्दा भिरबाट ठूलो ढुंगा उनको लोडरमाथि झर्दै थियो। पछाडि बसेका सुरक्षाकर्मीले खतराको संकेत दिन सिट्ठी फुके।
लोडरलाई पछाडि हटाउँदै गर्दा ढुंगा तलै आइपुगिहाल्यो। धन्न उनले त्यो ढुंगालाई लोडरको 'बकेट' भित्र पार्न सके। लोडरमा सामान्य क्षति पुग्यो।
'काम गर्ने क्रममा यस्ता जोखिम त कति हुन्छन् कति, तर जोखिम हुन्छ भनेर कामै नगरेर त भएन,' कुँवरले भने, 'लोडरमा नचढुञ्जेल हो डर हुने, चलाउन थालेपछि त डर भागिहाल्छ।'
हवल्दार कुँवरले पानी परेको अवस्थामा तुइनखोला लगायतका केही स्थानमा जुनसुकै समय पहिरो झर्नसक्ने जोखिम रहेको बताए।
तुइनखोलामा असोज ३ गते खसेको पहिरो पन्छाउन ४५ घन्टा र असोज ७ गते खसेको पहिरो पन्छाउन ५८ घन्टा लागेको थियो। त्यसपछि पनि यहाँ बेला बेला पहिरो झरेर बाटो अवरूद्ध भइरहेको छ।
'तुइनखोलाको पहरो चर्किएर बसेको छ। कुन दिन झर्ने हो थाहा छैन। मान्छे, गाडी नभएको बेला झरे हुन्थ्यो भनेर पुकार गरिरहेको छु,' कुँवरले भने, 'प्रकृतिको कुरा हो। हामीले भनेजस्तो त हुँदैन।'
दिन, रात दुःख गरेर काम गर्दा पनि मान्छेले गाली गरेको सुन्दा चाहिँ उनको चित्त दुखेको रहेछ। यात्रुहरूले काम ढिलो गर्यो भनेर गाली गर्ने गरेको उनले सुनाए।
'काम गर्दा गर्दै पहिरो झरेको छ। तैपनि हामी नडराई काम गरिरहेका छौं। चाडपर्व नभनी खटिरहेका छौं। तर मान्छेहरूले डोजर चलाउनेले ढिला गरे भनेर गाली गरेको सुन्छु। यस्तो सुन्दा बहुत चित्त दुख्ने रहेछ,' कुँवरले भने, 'एक दिन हिँड्नेलाई पो भन्न सजिलो छ। हामी त दिन रात यहीँ काम गर्ने हो। जोखिम मोलेर काम गरेका छौं। यो कुरा पनि त बुझ्नुपर्ने हो नि!'
तनहुँको व्यास नगरपालिका–१० घर भएका कुँवरले विजय दशमीको दिन आमाबाबुसँग टीका थाप्न घर जाने र त्यसपछि फेरि डियुटीमै खट्ने बताए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले चाडपर्व बेला सडक अवरूद्ध हुन नदिन र ट्राफिक व्यवस्थापन चुस्त राख्न प्रहरीहरूलाई खटाइएको जानकारी दिए।
'ट्राफिक प्रहरीको लोडरसहित सडक कार्यालयका लोडर र एक्स्काभेटर तयारी अवस्थामा छन्। पहिरो झरिहाले पन्छाउने काम उतिखेरै सुरू भइहाल्छ,' उनले भने।
***