बस्तीकै बीचबाट लगिएको विद्युत प्रसारण लाइनले जोखिममा परेको भन्दै बुटवल वडा नंं ३ गोलपार्कका बासिन्दाले हटाउन माग गरेका छन्।
विद्युत प्राधिकरणले घर-घरका बीचबाट लगेको प्रसारण लाइनका कारण बुटवलको वडा नं ३ गोलपार्क र चिडिया खोला तथा वडा नंं ४ का गरी ५ सयभन्दा बढी घरपरिवार जोखिममा परेका हुन्।
जोखिममा रहेका गोलपार्क र चिडिया खोलाका स्थानीयले नेपाल विद्युत प्राधिकरणको बुटवल वितरण केन्द्र र प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएर हाइटेन्सन लाइन हटाउन माग गरेका हुन्।
बुटवल पावर कम्पनीले पाल्पाको तिनाउ गाउँपालिका दोभानस्थित तिनाउ नदीबाट २०३० सालदेखि विद्युत उत्पादन गरिरहेको छ। प्राधिकरणका अनुसार नेपालमा सुरूङको प्रयोग विद्युत उत्पादन गरिएको यो पहिलो जलविद्युत आयोजना हो।
सोही आयोजनाबाट उत्पादित विद्युत ल्याउन पावर हाउसदेखि बुटवलको चिडिया खोला हुँदै राजमार्ग चौराहासम्म उक्त प्रसारण लाइन विस्तार गरिएको थियो। बाक्लो बस्तीको बीचबाट ल्याइएको ३ दशमलव ३ केभिएको हाइटेन्सन लाइनका कारण विगत पाँच दशकदेखि सयौं घरपरिवार जोखिममा रहेका हुन्।
वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकालले हाइटेन्सन लाइनका कारण वडा नं. ३ मा मात्रै ३ सय घरधुरीलाई प्रभावित पारेको बताए।
उनले हाइटेन्सन लाइनका कारण नक्सापास गरेर घर निर्माण गर्न र घरजग्गालाई बैंकमा धितो जमानी राखेर ऋण निकाल्न समेत नपाउँदा स्थानीयबासी समस्यामा परेको बताए।
हाइटेन्सन लाइनको दुवै तर्फ १५/१५ मिटर क्षेत्रको घर तथा जग्गा, वित्तीय कारोबारका लागि बैङ्कहरूले धितोको रूपमा अस्वीकार गर्दै आएका छन्।
त्यस्तै, घरको नजिकैबाट लगिएको हाइटेन्सन लाइनका कारण विद्युतीय दुर्घटनाको जोखिम समेत बढेको छ।
‘घरको छतमा जाँदा पनि विद्युतीय दुर्घटनाको जोखिम छ, यसो छतमा गएर केही काम गर्न पनि नजिकै झुन्डिएका तारमा छोइएर करेन्ट लाग्ने हो कि भन्ने डर छ,’ वडा अध्यक्ष ढकालले भने।
वडा अध्यक्ष ढकालले पछिल्लो एक डेढ वर्ष यता उक्त हाइटेन्सन लाइनको वैकल्पिक रूट बनेको भए पनि हाइटेन्सन नहटाइएकोले हटाएर बस्तीलाई सुरक्षित बनाउन माग गरे।
‘एक डेढ वर्ष यता त्यसको विकल्पमा अर्को रूट पनि बनेको छ, कहिलेकाहीँ अर्कै रूटबाट विद्युत प्रवाह पनि हुने गरेको छ तर, वैकल्पिक रूट बने पनि बस्तीमाथि बाट लगिएको हाइटेन्सन हटाइएको छैन,’ उनले भने।
उनले कहिलेकाहीँ पुरानै हाइटेन्सनबाट विद्युत प्रवाह गर्दा झनै जोखिम बढाएको बताए।
विद्युत लाइनका कारण आफूहरू जोखिममा परेको र जुनसुकै समयमा पनि विद्युत सर्ट भई आसपासको बस्ती समेत आगजनीको जोखिममा रहेको स्थानीय उमेश अधिकारीले गुनासो गरे।
‘हामीले धेरै पटक हाइटेन्सन लाइन हटाउन विद्युत प्राधिकरणसँग आग्रह गरेको भए पनि विद्युत प्राधिकरणले कुनै सुनुवाइ गरेको छैन,’ अधिकारीले भने।
अधिकारी घरको छतदेखि दुईचार हातमाथिबाट मात्र तार विस्तार गरिएकोले ठूलो हावाहुरी चल्दा विद्युतका तार घरका छतमा छोइने र खस्ने गरेको बताए।
विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद कुसियतले स्थानीयले राखेका मागहरू सम्बोधनका लागि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाएको बताए।
कार्यालय प्रमुख कुसियतले विद्युत लाइन सार्ने कार्य प्रदेश कार्यालयको क्षेत्राधिकार भित्रको काम नभएकोले केन्द्रीय कार्यालयमा पठाइएको बताए।
‘प्रदेश कार्यालयलाई हाइटेन्सन लाइन हटाउने अधिकार हुँदैन, प्रदेशलाई दिइएको अधिकार भनेको लो भोल्टेजसम्मको मात्र हो, सडकमा परेका पोल, सडक विस्तारमा पर्ने पोल र घरमा जाने बत्तीका पोलहरू सार्ने र हटाउने मात्रै हाम्रो अधिकार भित्र पर्छ ठूला पोलहरू र हाइटेन्सन लाइन सार्ने अधिकार हामीलाई हुँदैन। हाइटेन्सन लाइन सार्न केन्द्रमा कार्यविधि बनेको हुन्छ त्यही कार्यविधि अनुसार स्थानान्तरणका लागि केन्द्रमा सिफारिस गरिएको छ,’ उनले भने।
त्यस्तै बुटवलको राजमार्ग चौराहा ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पाका लागि बस्तीमाथिबाट लगिएको ३३ केभिए प्रसारण लाइनका कारण पनि बुटवलका धेरै बस्ती जोखिममा परेका छन्।
योगिकुटी शव स्टेसनलाई राजमार्ग चौराहामा रहेको शव स्टेसनमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पामा ११ हजार भोल्टको विद्युत प्रसारण भइरहेको छ। त्यस प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा हालसम्म करिब आधा दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन्।
बाक्लो बस्तीमाथिबाट हाइ भोल्ट करेन्ट प्रवाह नगर्न स्थानीयहरूले बारम्बार ध्यानाकर्षण गराए पनि प्राधिकरणले सुनुवाइ गरेको छैन।
कालिका नगर, राजमार्ग चौराहा, चाँदवारि, सुख्खा नगर क्षेत्रका सयौँ घर परिवार हाईटेन्सन लाइनबाट हुनसक्ने सम्भावित दुर्घटनाको जोखिममा छन्।