आमाशय हाम्रो शरीरको पेटको माथिल्लो पट्टी बाँया भागमा रहन्छ। यो खानानली र सानो आन्द्राको बीचको हुन्छ। खाएको खाना निलेपछि आमाशयमा जम्मा हुन्छ।
हामीले खाएको खाना २ देखि ४ घण्टा आमाशयमा रहन्छ। त्यसपछि विस्तारै सानो आन्द्रामा जान्छ र पच्न बाँकी चिजहरू पच्दै जान्छ। आमाशयलाई गहिरिएर हेर्दा यसमा विभिन्न तहहरू हुन्छन्। भित्री तह, बाहिरी अनि बीचको गरेर ४/५ ओटा हुन्छन्।
आमाशयको भित्री भागमा क्यान्सर हुने गर्छ।
इन्डोस्कोपी गरेर हेर्दा यसको क्यान्सर पत्ता लगाउन सकिन्छ। कतिपय अवस्थामा भने इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरेर हेर्नुपर्छ भने बायस्पी समेत लिनुपर्छ।
यो क्यान्सरको लक्षण के/के होलान् त भन्ने चासो धेरैलाई हुन्छ।
जण्डिस भयो, बान्ता भयो, रगत पनि कम भएको छ, भोक लाग्दैन, शरीर दुब्लाउँदै गइसकेको छ अनि पेटभित्र पानी जमेको छ भने आमाशयको क्यान्सर भएको आशंका हुन्छ।
तर यी लक्षणहरू क्यान्सर ठूलो भइसकेको अवस्थामा मात्र देखिन्छन्। त्यस्तो अवस्थामा कलेजो, पेटमा रोग फैलिसकेको हुन्छ।
क्यान्सरको प्रारभिक चरणमा धेरै मान्छेलाई कुनै पनि किसिमको लक्षण देखिँदैन। र केही मान्छेहरूमा ग्याष्ट्रिकको जस्तो लक्षणहरू देखिन्छन्।
कतिलाई माथिल्लो पेट अलि अलि दुख्ने अनि बान्ता आउला, आउला जस्तो हुने, एसिड मुखतिर आएजस्तो हुने हुन्छ। अर्थात् थाहा नपाइँदो लक्षणहरू हुन्छन् जसलाई मान्छेहरूले ग्याष्ट्रिक भयो होला भनेर आफैले औषधि किनेर खाने चलन छ। त्यसैले यसको बेलैमा परीक्षण गर्नुपर्ने हुन्छ।
यसको लागि एउटा त हुनै नदिने भन्ने हो भने अर्को सुरूमै कसरी पत्ता लगाउने भन्ने हो।
यी दुई वटा चिजलाई हामीले सुरूमै उपचार गर्न सक्यौं भने निको पार्न सकिन्छ। क्यानसर नै भएको रहेछ भने सुरूआती अवस्थामै उपचार गर्न सके ९५ प्रतिशत पूरै निको हुन्छ।
ठाउँ छोडेर आमाशयभन्दा बाहिर गइसक्यो, विभिन्न ठाउँमा फैलिसकेको छ भने उपचारले रोकथाम हुन्छ। जस्तो: किमोथेरापी लगायतका उपचारहरू छन्। तर पूरै निको पार्न सकिँदैन। यसको नियन्त्रण गर्नसम्म सकिन्छ। केही समय उमेर लम्ब्याउनसम्म सकिन्छ। त्यसैले यसलाई रोकथाम गरेर हुनै नदिने भन्ने हो।
आमाशयको क्यान्सरको रोकथामका लागि सबभन्दा महत्वपूर्ण खानपिन हो। यसको रोकथाममा सरसफाइ महत्वपूर्ण छ। सफा पानी पिउने अनि सफा खाना खानुपर्छ। हेलिकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाले पनि ग्याष्ट्रिक गराउँछ भन्ने छ। यो नहोस् भनेर सरसफाइमा ध्यान दिनुपर्छ भनिएको हो। यदि 'एच पाइलोरी' भन्ने संक्रमण रहेछ उपचारले सजिलै निको हुन्छ।
त्यस्तै फलफूल, सागसब्जीहरू, रेसादार खाना अनि अमिलो खालको फलफूलहरूले बढी फाइदा गर्छ। प्रशोधित गरेको माछा मासुहरू अथवा खानेकुराहरू खान हुँदैन। धेरै फ्राइ गरेको खाना पनि खान हुँदैन। चुरोट खाने बानी छ भने छोड्नु पर्छ।
अर्को कुरा अहिले धेरै मोटोपना बढ्दैछ। हामीले शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ। हामी कतिले ग्याष्ट्रिक छ भनेर आफूखुसी औषधि किनेर खाने बानी छ भने त्यसलाई छोड्नुपर्छ। सम्बन्धित चिकित्सकलाई देखाएर मात्र हामीले औषधि लिनुपर्छ। केही असजिलो भएको छ भने जँचाउने बानी गर्नुपर्छ। आफूखुसी औषधि खान हुँदैन। हुन त आमाशयको क्यान्सर हुने भनेको दुर्लभ कुरा हो।
परिवारमा कसैलाई क्यान्सर छ भने परिवारको अरू सदस्य पनि चनाखो हुनुपर्छ। के भनाइ छ भने कोही मान्छेलाई ५० वर्षको उमेरमा ग्याष्ट्रिक क्यान्सर भयो भने उसका आफन्तले ४० वर्षमा इण्डोस्कोपी गरेर हेर्नुपर्छ। अथवा एचपाइलोरी ब्याक्टेरियाको जाँच गर्नुपर्छ।
अर्को परिवारमा कसैलाई स्तन क्यान्सर, ग्याष्ट्रिक क्यान्सर जे पनि हुन सक्छ। त्यस्तो परिवारले जीन परीक्षण गरेर पनि रोकथाम गर्न सकिन्छ।कतिपय अवस्थामा त जीनको परीक्षण गरेर २० वर्षकै उमेरमा पनि स्क्रिनिङ गर्नुपर्ने हुन सक्छ।
क्यान्सर उपचारको कुरा गर्दैगर्दा सर्जनको मात्र भूमिका हुँदैन। यसमा मेडिकल अंकोलोजिष्ट, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट सबैको भूमिका हुन्छ।
अमेरिका जस्तो अति विकसित देशमा समेत आधाभन्दा धेरै बिरामीको क्यान्सर ढिलो मात्र पत्ता लाग्छ भन्ने छ। जापानमा ५० वर्ष पुगेका हरेक व्यक्तिमा इण्डोस्कोपी गर्ने चलन छ। त्यस्तै दक्षिण कोरियामा ४० वर्ष पुग्न साथ इण्डोस्कोपी गरिन्छ। इण्डोस्कोपी गरेर स्क्रिनिङ गर्यो भने सुरूआती चरणमा क्यान्सर पत्ता लाग्छ। पूर्वी एसियामा यो समस्या अलि धेरै देखिने भएकाले सम्पन्न देशहरूले एउटा निश्चित उमेर पुगेपछि बेला मौकामा इण्डोस्कोपी गर्छन्।
हाम्रो जस्तो देशमा यो रोग बिरलै देखिने भएकाले सबैको स्क्रिनिङ जरूरी छैन र सम्भव पनि छैन। त्यसैले जोखिममा रहेका र लक्षण देखिएकाले स्क्रिनिङ गर्नुपर्छ। अर्थात् चुरोट खाने बानी छ, एच पाइलोरी ब्याक्टेरिया देखिएको छ अनि उमेर पनि बढ्दो छ भने स्क्रिनिङ गर्न जरूरी छ।
(आमाशयको क्यान्सर किन हुन्छ,के उपचार हुन्छ अनि कसरी जोगिने भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रो सर्जन प्रा.डा.कमल कोइरालासँग हामीले भिडिओ कुराकानी गरेका छौं।)