दाङ तुलसीपुरका १९ वर्षीय निरज चौधरीको गोली हानी हत्या घटनामा संलग्न महावीर चौधरीसहित चार जनालाई बर्दिया प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले निरजमाथि गोली प्रहार गरी हत्या गर्ने आरोपी ५१ वर्षीय महावीर सहित उनलाई सघाउने एकै परिवारका थप तीन जनालाई पनि सार्वजनिक गरेको हो।
बर्दियाको राजापुर नगरपालिका – ४ की ४४ वर्षीया रामकुमारी थारू, उनका ५० वर्षीय श्रीमान बुद्धि थारू र उनीहरूका छोरा २२ वर्षीय राहुल थारू छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ का १९ वर्षीय निरजमाथि तुलसीपुर–६ कै महावीरले मंसिर २० गते बिहान ८ बजेतिर बर्दियाको राजापुर नगरपालिका–४ स्थित ‘हमार थारू घर एण्ड रेष्टुरेन्ट’ भित्रै कन्चटमा गोली हानेर हत्या गरेका थिए। जुन रेष्टुरेन्ट महावीरको लगानीमा सञ्चालन हुँदै आएको थियो।
पक्राउ परेकी रामकुमारीको नाममा रेष्टुरेन्ट दर्ता छ। उनीहरूले नै त्यो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।
बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलले पत्रकार सम्मेलनमा महावीरले गोली प्रहार गरिसकेपछि आमा छोराले मिलेर अस्पताल पुर्याएका थिए।
‘गोली प्रहारपछि अचेत अवस्थाका निरजको बारेमा प्रहरीलाई खबर गर्नुको साटो एम्बुलेन्स बोलाई त्यसमै राखेर आमा–छोराले मिलेर अस्पताल लगेको देखियो,’ एसपी पौडेलले भने, ‘उनीहरूले अचेत अवस्थाका निरजलाई नजिक अर्थात् बर्दियाकै अस्पताल नलगी टाढाको बाँके जिल्लाको नेपालगञ्जस्थित नरसिंह होममा पुर्याउने र आपराधिक कार्यमा संलग्न महावीरलाई भाग्ने मौका दिने कार्यमा सघाएको खुल्यो।’
त्यस्तै रामकुमारीका श्रीमान बुद्धि थारूले घटनास्थल तथा ‘हमार थारू घर एण्ड रेष्टुरेन्ट’ भित्रका प्रमाण नष्ट गर्न भूमिका खेलेको हुँदा पक्राउ गर्नु परेको एसपी पौडेलले बताए।
तत्काल प्रहरीलाई खबर नगरी बुद्धि थारूले गोली प्रहार भएको स्थानको सरसफाइ गर्नुको साथै प्रमाण मेटाउन लिपपोतसम्म गरेको अनुसन्धानबाट खुलेको हुँदा अपराधी जोगाउने तथा अपराध लुकाउने कार्यमा सहयोगी भूमिका देखिएको हुँदा पक्राउ गर्नु परेको एसपी पौडेलले बताए।
प्रहरीले महावीरले चढ्ने एउटा भारतीय नम्बर प्लेटको गाडी पनि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनले प्रयोग गर्ने मोटरसाइकल पनि रहेको भन्ने खुल्न आएता पनि फेला परेको छैन।
निरजमाथि गोली प्रहारपछि भाग्न महावीरले आफ्नै सवारी साधन प्रयोग नगरी राहुलको मोटरसाइकल प्रयोग गरेका थिए।
गोली प्रहारपछि आफू मोटरसाइकलमा पछिपछि आउने आश्वासन दिएर राहुल र उनकी आमा रामकुमारीलाई अचेत अवस्थाका निरजलाई नेपालगंज अस्पतालमा लैजान लगाए पनि महावीर आफू भने अस्पताल नपुगी कैलालीतर्फ भागेका थिए।
भाग्न प्रयोग गरेको सोही मोटरसाइकलबाटै अनुसन्धान गर्दै प्रहरीले कैलालीको कैलारी गाउँपालिका–२ स्थित एक खाली घरमा लुकीछिपी बसेको अवस्थामा महावीरलाई फेला पारी बिहीबार बिहान ३ बजेतिर नियन्त्रणलिन सफल भएको थियो।
‘निरजलाई गोली प्रहारपछि महावीर भेष बदलेर छिप्न र भाग्न सक्छु कि भन्ने हरेक प्रयासहरू गरेको देखियो,’ एसपी पौडेलले भने, ‘तर, प्रहरीलाई सोही मोटरसाइकल पच्छ्याउँदै जाँदा उनीसम्म पुग्न सहज भयो।’
महावीरले भाग्न प्रयोग गरेको उक्त मोटरसाइकल पनि प्रहरीले कैलालीमा फेला पारेको थियो।
मंसिर २० गते बिहान ८ बजेपछि निरजमाथि गोली प्रहार भए पनि घटना बारे प्रहरीले बिहान ११ बजेतिर मात्रै थाहा पाएको थियो।
नेपालगञ्ज नरसिंह होमका चिकित्सकले निरजमाथि गोली प्रहार भएको कुरा गरेपछि बाँके प्रहरी हुँदै बर्दिया प्रहरीसम्म त्यो सूचना पुगेको थि ।
लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दै बाँके, बर्दिया र कैलालीका सीमा नाकाका प्रहरीलाई सर्कुलर जारी गरेको थियो।
सीमा नाकामा हुन सक्ने कडाइका कारण भारत भागेर जान संभव नहुने ठानेरै महावीर छिप्नकै लागि कैलालीतर्फ भागेको अनुसन्धानबाट खुलेको छ।
प्रहरी अधिकारीहरूका अनुसार त्यो बीचमा महावीरले विभिन्न व्यक्तिहरूसँग फोन सम्पर्क गर्दा फरक/फरक सीम कार्ड र मोबाइल प्रयोग गर्ने गरेका थिए।
बर्दियाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले गोली प्रहार गर्ने मुख्य अभियुक्त महावीरले निरजको हत्यामा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद भएको बताए।
प्रहरीका अनुसार त्यो हतियार उनले कहाँबाट ल्याएका थिए? भन्नेबारे थप अनुसन्धान भइरहेको बताए।
हत्या गरिएका तुलसीपुरका निरज नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको बर्दियाको राजापुरस्थित फार्म हाउसको रेखदेख युवा हुन्। निरजले विगत नौ महिनादेखि फार्म हाउसको रेखदेखको काम गर्दै आएका थिए।
महावीर पूर्वमुख्यमन्त्री डिल्लीका सहोदर भाइ हुन्।
महावीरको लगानीको रेष्टुरेन्ट र उनका दाजु डिल्लीको फार्म हाउस नजिकै छन्।
अमेरिकाका ग्रिन कार्ड होल्डर महावीरले विभिन्न व्यक्तिहरूलाई अवैध मार्ग अर्थात तल्लो बाटो अमेरिका पठाइदिने आश्वासन दिएर रकम असुल्दै ठगी गर्दै आएको भन्ने खुल्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
निरजलाई पनि महावीरले अमेरिका पठाउने आश्वासन दिएर विगतमा पैसा दिएको र पठाउन नसकेको हुँदा पैसा फिर्ता माग्दा गोली हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
तर, महावीरले निरजसँग कति पैसा लिएका थिए भन्नेबारे भने प्रहरीले केही बताएको छैन।
त्यसबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ।
हत्या गरिएका निरजले आफूसँग महावीरले पैसा लगेको र माग्दा नदिने गरेको भनेर महावीरका दाजु अर्थात् पूर्व मुख्यमन्त्री डिल्लीलाई कुरा लगाइदिएका थिए। लगेको पैसाबारे दाजुलाई पोल खोलिदिएको भनेर रिसाएका महावीरले सोही बहानामा उनको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताएका छन्।
सम्बन्धित समाचार:
प्रहरी भन्छ- पैसा लगेकोबारे दाजुलाई भनिदिएपछि महावीरले गरेका थिए निरजको हत्या
युवकको हत्या आरोपमा पक्राउ परेका व्यक्ति लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ
निरजको हत्या आरोपीको खुल्यो पहिचान
विदेश नपठाएपछि पैसा फिर्ता माग्दा साथीले नै गरे गोली हानेर हत्या