काठमाडौं ठमेलको वाल्डो क्यासिनोमा संगठित रूपमै ठगी भएको खुलेको छ।
फ्लस खेल (तीन पत्ती) खेलाएर लुट्नका लागि भारतीय र नेपाली समूहले संगठित रूपमा ठगी गरेको पाइएको हो।
ठगी गर्नका लागि प्रविधि समेत प्रयोग भएको यस घटनामा ६ जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले घटनाबारे सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भारतीय नागरिक सुरेश महाजन यस ठगी धन्दाका मुख्य अभियुक्त हुन्। उनी महाकाय ग्रुपका सञ्चालक समेत हुन्। उनले भारतमा एउटा विज्ञापन राखेका थिए।
महाकाय ग्रुपको नामबाट नेपालको मेरियट होटलमा क्यासिनो खेलाउने भनिएको थियो। तर मेरियटमा खेलाउन सम्भव नभएपछि लोकेसन वाल्डोमा सारिएको थियो।
डिसेम्बर ११ देखि १४ सम्म इभेन्ट हुने तर त्यसका लागि २० घण्टासम्म खेल्नुपर्ने सर्त राखिएको थियो। यसरी खेल्दा होटलमा निशुल्क बस्ने सुविधा, पशुपति घुमघाम, आउने जाने टिकटको व्यवस्था र खाने समेतको व्यवस्था हुने सुविधा दिइएको थियो।
यसका लागि सुरेश महाजनको समूहले भारतमा जुवा खेल्न प्रखर व्यक्तिहरूलाई खोज्दै उनीहरूसँग रकम संकलन गरेका थिए।
खेल्नका लागि संकलन गरिएको रकम उनीहरूले भारतमै रहेको अर्को एक समूहमार्फत ट्रान्सफर गराएका थिए।
२०० जना जति भारतीय नागरिक उक्त इभेन्टका लागि नेपाल आउन तयार भएका थिए। तयार भएका उनीहरू डिसेम्बर १० मै काठमाडौं आइपुगे।
यसरी आइपुगेका व्यक्तिहरूको व्यवस्थापन गर्न नेपाली नागरिक बिपी ग्रुपका जनार्दन उप्रेती ‘विनोद’ ले जिम्मा पाएका थिए।
यस्तै, यस योजनामा एनटी ग्रुपका नितेश ठक्कर, नातिक ग्रुपका नातिक, आरजी ग्रुपका रजत गोयल, एसजी ग्रुपका सन्तोष गोयल र सेठी ग्रुपका अमित सेठी छन्। भारतबाट क्यासिनो खेल्न आएकाहरूलाई राख्न ४० वटा कोठा होटल एलफ्ट, ५० वटा कोठा होटल मेरियट र २० वटा कोठा बुक गरिएका थिए।
यी समूहले नेपालमा क्यासिनो खेल्नका लागि वास्तविक खेलाडीहरू नै ल्याए। त्योसँगै डमी खेलाडीहरूलाई पनि ल्याए।
उनीहरूले डमी खेलाडीका लागि रकम लगानी गर्ने महाकाय समूहकै हुन्थ्यो। खेलेबापत उनीहरूले जितेको १० प्रतिशत उठाउँथे।
एसपी पवन भट्टराईका अनुसार इभेन्टका दिनसम्म क्यासिनोमा समेत सेटिङ मिलिसकेको थियो।
‘क्यासिनोका एक तहका व्यक्तिहरूको संलग्नता बिना यो सम्भव हुँदैन थियो। भारतका सुरेशले एक तहको काम गर्यो। नेपाली जनार्दनले एक तहको व्यवस्थापन गर्यो,’ उनले भने।
यो समूहले भारतबाट छुट्टै म्याग्नेटिक तास ल्याएका थिए। तासमा के कस्तो कार्ड छ भन्ने थाहा पाउन सकिने आइलेन्स पनि ल्याएका थिए।
‘डमी खेलाडीहरूको मात्रै संलग्नताले यो सकिने अवस्था हुन्न। भित्र क्यासिनोमा आफ्नो तास पुर्याउनका लागि आफ्नै डिलर र समन्वय गर्नपर्थ्यो,’ उनले भने।
यसका लागि उनीहरूले क्यासिनोका सञ्चालक समेतलाई आफ्नो पक्षमा ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।
यस्तै केही नेपाली नागरिकलाई डिलरको रूपमा प्रयोग गरेको समेत देखिएको हो। डिलरको काम तास बाँड्ने हुन्थ्यो। एउटा टेबलमा खेल्नका लागि भारतबाट आएका ५ देखि ६ जनासम्म हुन्थे। त्यसबाहेक हरेक जसो टेबलमा एक जना डमी खेलाडी आँखामा लेन्स लगाएर त्यहाँ खेल्न बसेका थिए।
डिलरले पनि ती डमीले तासमा के छ? भन्ने थाहा पाउन मिल्ने तास वितरण गर्थे।
‘लेन्स प्रयोग गर्दागर्दा उनीहरूको आँखा वरिपरि डार्क सर्कल भइसकेको थियो। उनीहरूले त्यो प्रयोग गर्दा आँखा पनि दुख्ने रहेछ। त्यसैले एक व्यक्तिले धेरैमा दुई घण्टासम्म खेल्ने र पछि रोटेसन गर्ने रहेछन्,’ एसपी भट्टराईले भने, ‘जितेको ९० प्रतिशत म्यानेजरलाई र १० प्रतिशत उनीहरूले पाउने हुन्।’
क्यासिनोभित्र यो समूहले ल्याएको १२ वटा सेट तास क्यासिनो फेला पारेको थियो। ३८ वटा सिल प्याक गरिएको होटलमा बरामद भएको थियो। दुई वटा सेट आइलेन्स पनि बरामद भएको थियो।
महाकाय ग्रुपले भारतमा ५० वटा तास र चार सेट लेन्स भारतमा किनेको थियो।
मुख्य खेलाडीहरू भारतीय नागरिक दिनेश वर्मा र विक्रम सिंह हुन्। उनीहरूलाई पनि प्रहरीले लेन्स र ताससहित पक्राउ गरेको छ।
प्रहरीले मुख्य अभियुक्त सुरेश महाजन, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई पनि पक्राउ गरेको छ। प्रमोद भारतबाटै नेपाल आएका हुन्। चिजा र भवानी नेपाली नागरिक हुन्।
उनीहरूलाई क्यासिनोमा तास वितरण गर्ने डिलरको रूपमा काममा लगाइएको थियो।
अहिले प्रहरीले वाल्डो क्यासिनोका संचालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरब खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भन्नेको खोजी गरिरहेको छ।
यो समूहले खेलबाट एक करोड ७० लाख भन्दा बढी रकम ठगेको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि त्यसबारे यकिन भइसकेको भने छैन। थप अनुसन्धानबाट यकिन ठगी भएको रकम खुल्ने प्रहरीले जनाएको छ।
यो समूहले नेपालको भैरहवामा रहेको क्यासिनो एलिगेन्ट र काठमाडौंको प्राइडमा पनि यस्तै इभेन्ट गराइसकेको प्रहरीको अनुसन्धानमा देखिएको छ। यसबाहेक भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा समेत यस्तो काम गरेको प्रहरीले जनाएको छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1766574720.jpeg)
-1766574720.jpeg)
-1766574720.jpeg)
-1766574718.jpeg)
-1766574718.jpeg)
-1766574716.jpeg)
-1766574716.jpeg)
-1766574719.jpeg)

-1766574715.jpeg)
-1766574715.jpeg)
-1766574714.jpeg)
-1766574714.jpeg)

-1766574714.jpeg)