इस्लामिक स्टेट (आईएस)का लडाकुहरूलाई लक्ष्य गर्दै अमेरिकाले नाइजेरियामा हवाई हमला गरेको छ।
बिहीबार पश्चिम नाइजेरियका विभिन्न ठाउँमा आईएस लडाकूलाई लक्ष्य गरेर अमेरिकाले शक्तिशाली हवाई हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो आदेशपछि नाइजेरियामा हवाई हमला गरिएको पुष्टि गरेका छन्।
ट्रम्पले नाइजेरियामा आईएस समूहले क्रिश्चियनहरूको हत्या गरिरहेको आरोप लगाउँदै त्यसको कारबाहीस्वरूप हमला गरिएको बताएका छन्।
'क्रिश्चियनहरूको हत्या रोकिएन भने परिणाम गम्भीर हुनेछ भनेर मैले पहिल्यै चेतावनी दिएको थिएँ,' ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।
अमेरिकी अफ्रिका कमान्ड (अफ्रिकम) ले नाइजेरियाली सरकारको अनुरोधमा सोकोटो राज्यमा गरिएको हवाई आक्रमणमा धेरै 'आतंककारी' मारिएको पुष्टि गरेको छ।
सोकोटो राज्य नाइजरसँग सीमा जोडिएको क्षेत्र हो।
नाइजेरियाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै आईएसविरूद्धको आक्रमणमा अमेरिकी सेनासँग सहकार्य भएको बताएको छ। उसले जातीय पहिचानको आधारमा कुनै पनि नागरिकमाथि हिंसा सहन नहुने बताएको छ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुका विशेष सल्लाहकार ड्यानियल ब्लालाले पनि अमेरिका र नाइजेरिया आतंकवादविरुद्ध एउटै धारमा रहेको बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले नाइजेरियाली सरकारको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।
ट्रम्पले यसअघि नाइजेरियामा धार्मिक स्वतन्त्रता उल्लंघन भइरहेको आरोप लगाउँदै सम्भावित सैन्य कारबाहीको तयारी गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए।
२३ करोडभन्दा बढी जनसंख्या भएको नाइजेरियामा वर्षौँदेखि सुरक्षा समस्या गहिरिँदै आएको छ। धार्मिक अतिवाद, सामुदायिक र जातीय द्वन्द्व तथा किसान र गोठालाबीचको स्रोतसम्बन्धी विवादले हिंसा बढाएको विश्लेषकहरूको भनाइ छ।
दुवै प्रमुख धार्मिक समुदाय क्रिस्चियन र मुस्लिम अतिवादी समूहको हिंसाबाट प्रभावित हुँदै आएका छन्।