चैतभित्रै यदि बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार गठन भयो भने त्यसले आफ्नो वाचाहरूको लामो सूची पुनः स्मरण गर्दै नयाँ वर्ष २०८३ को स्वागत गर्ने अवसर पाउँछ।
साथै नयाँ वर्षको भोलिपल्टै वैशाख २ गते (अप्रिल १५) नेपालले हालै मात्र राष्ट्र संघीय मान्यता दिलाउन सफल भएको अन्तर्राष्ट्रिय आरोग्य दिवस पहिलो पटक मनाउने र त्यसलाई विश्वव्यापी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पनि पाउने छ।
ठिक यही बेला, नेपाली भूभागका रूपमा चुच्चे नक्साभित्र समेटिएको लिपुलेकबाट नेपाललाई थाहै नदिई चीन र भारतले व्यापार थाल्ने खबरले काठमाडौंमा धेरैलाई रूष्ट बनाइदिएको छ। त्यसको निप्टाराको अभिभारा पनि नयाँ सरकारकै काँधमा जानेछ।
तथापि आरोग्य दिवस मनाउने नेपालको प्रस्तावलाई चीन र भारत लगायत मित्र राष्ट्रको समर्थनमा राष्ट्र संघको महासभाले अनुमोदन गर्नुलाई परराष्ट्र मन्त्रालयले नेपालको एउटा अर्को 'कूटनैतिक कोशेढुंगा' भनेको छ।
महासभाले हरेक वर्ष अप्रिल १५ तारिखमा त्यो दिवस मनाउने घोषणा गरेसँगै विश्वभरका मानिस शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, संवेगात्मकका साथै समग्र पारिस्थितिकीय प्रणाली समेतको हित हुने गरी आरोग्यता हासिल गर्न अग्रसर हुने अपेक्षा गरिएको छ।
तर कतिपय विज्ञले बिना रणनैतिक तयारी आरोग्य दिवस मनाउने प्रस्तावले नेपालको गरिबीको रेखामुनि रहेका मानिसको जीवनस्तर उकास्न तत्कालै ठोस परिणाम दिन नसक्ने भन्दै आलोचना गरेका छन्। त्यसको चर्चा अलि तल गरिनेछ।
आरोग्यमार्फत दिगो विकास
म्याग्दीको पुन हिलमा धौलागिरि हिमालको दृश्य अगाडि रमाउँदै चिनियाँ पर्यटक। तस्बिरः सुरेन्द्र फुयाल
आरोग्य दिवस मनाउने अभ्यास र आरोग्य जीवनशैली प्रवर्द्धनले रोग निरोधात्मक हेरचाह, स्वस्थ जीवनशैली र समावेशी स्वास्थ्य प्रणालीमार्फत विश्वभरि नै सवल र लचिलो समाज निर्माणमा सहयोग पुग्ने नेपाली अधिकारीहरूको विश्वास छ। अन्ततोगत्वा त्यसले नेपाललाई आरोग्य हुन पुग्नैपर्ने गन्तव्यको रूपमा विश्वभर चिनाउने उनीहरूको आशा छ।
राष्ट्र संघको दीगो विकास लक्ष्य सन् २०३० को एजेन्डाको तेस्रो बुँदामा दीगो विकास हासिल गर्न सुस्वास्थ्य र आरोग्यता प्रवर्द्धन हुनुपर्नेमा जोड दिइएको छ। त्यसले सबै उमेर समूहका मानिस स्वस्थ तथा आरोग्य रहनुपर्ने तथा आमा तथा बच्चाको सुस्वास्थ्यका साथै सबैको मानसिक स्वास्थ्य सबल हुनुपर्नेमा समेत जोड दिएको छ।
त्यही लक्ष्य हासिल गर्न यसअघि योग दिवस मनाउने भारतको प्रस्ताव तथा ध्यान दिवस मनाउने भारत, नेपाल, श्रीलंका लगायत देशको प्रस्ताव राष्ट्र संघले अनुमोदन गरिसकेको छ। फलस्वरूप सन् २०१५ देखि जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस र सन् २०२४ देखि डिसेम्बर २१ तारिखका दिन अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन थालिसकिएको छ।
भुटानले प्रस्ताव गरेको विश्व खुसी दिवस सन् २०१३ देखि मार्च २० मा मनाउने गरिएको छ।
नेपाल सरकार के गर्दैछ
न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको महासभामा आरोग्य दिवसको महत्ताबारेको छलफलमा सहभागीबीच भिडिओ स्क्रिनमा देखिका नेपाली राजदूत लोकबहादुर थापा। तस्बिरः नेपाली मिसन न्यूयोर्क/एक्स
परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीका अनुसार आउने अप्रिल १५ का दिन विश्वभर पहिलो पटक आरोग्य दिवस भव्य रूपमा मनाउने तयारी सुरू भइसकेको छ — संसारभर हाम्रा ४४ वटा वैदेशिक नियोगहरू छन्। हामी त्यस दिन ध्यान, योग, कला, संगीत, विभिन्न खेलकुद तथा स्वस्थ आहारविहार जस्ता कार्यक्रम आयोजना गरी आरोग्य दिवस मनाउने तयारीमा जुटिसकेका छौं।
त्यति नै बेला देशमा नयाँ सरकार गठन हुने चर्चा छ। त्यो सरकारले पश्चिम एसियामा जारी लडाइँको असर र छिमेकी चीन तथा भारतसँग जोडिएका विभिन्न कूटनीतिक चुनौती व्यवस्थापनको क्रम थालनीसँगै, अन्तर्राष्ट्रिय आरोग्य दिवसलाई मान्यता दिलाउने नेपालको पछिल्लो 'कूटनैतिक उपलब्धि' को रक्षा गर्दै आवश्यक कदमहरू चाल्नेमा अधिकारीहरू आशावादी छन्।
केही साताअघि मात्र राष्ट्र संघीय महासभामा प्रस्तुत नेपालको प्रस्तावको मस्यौदालाई अर्मेनिया, अष्ट्रिया, बंगलादेश, भुटान, जर्मनी, भारत, काजखस्तान, किर्गिज्स्तान, पाकिस्तान, फिलिपिन्स र उज्बेकिस्तान लगायत देशले समर्थन गरेका थिए। पछि अन्य केही सदस्य राष्ट्रले पनि समर्थन गरेपछि सो प्रस्ताव पारित भएको हो।
नेपालको प्रस्ताव अनुमोदन गर्दै अप्रिल १५ मा आरोग्य दिवस मनाउने राष्ट्र संघको घोषणा लगत्तै नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी समेत हौसिएका छन्। उनीहरूले नेपालमा योग ध्यान तथा पदयात्रा तथा अन्य साहसिक गतिविधि मार्फत आरोग्य पर्यटन थप फस्टाउन सक्ने र त्यसबाट नयाँ रोजगारीका अवसर सिर्जना हुन सक्ने अपेक्षा गरेका छन्।
विदेशस्थित नेपाली नियोग मात्रै होइन, संयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकाय तथा सरोकारवालाले समेत आफ्नो उपस्थिति रहेका सबै देशमा विभिन्न कार्यक्रम आयोजना गरी आरोग्य दिवस मनाउन आह्वान गरिसकेको छ। त्यसबाट आरोग्य प्राप्तिका लागि जनचेतना बढ्नुका साथै उपयुक्त आरोग्य गन्तव्यको रूपमा नेपाल चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
अप्रिल १५ मा आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित हुने बित्तिकै नेपाल पर्यटन बोर्डले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमा एक सन्देश राख्दै त्यसलाई नेपालका लागि गर्वको क्षण भनेको छ — योग, ध्यान, सजगता र प्रकृतिसँग मिलेर बसेको नेपालले यो विश्वव्यापी आरोग्य अभियानमा जीवनभरका लागि स्मरण रहने #LifeTimeExperiences मार्फत योगदान दिन सक्छ। यो उपलब्धि आरोग्यता प्रवर्द्धन गर्न विभिन्न व्यक्ति र संस्थाले गरेको अथक प्रयासको प्रतिबिम्ब हो।
हालै मात्र युरोपेली अनुसन्धानकर्ताहरूले गरेको विश्वव्यापी अध्ययनले नेपाल प्रकृतिसँग सबभन्दा धेरै जोडिएको देशको सूचीको सबभन्दा पहिलो स्थानमा रहेको देखाएको थियो।
त्यसको अर्थ नेपालीहरू भावनात्मक र मनोवैज्ञानिक रुपमा प्रकृतिसँग धेरै जोडिएका छन्; यहाँका मानिस पर्यावरणमैत्री स्वभावका हुन्छन् र उनीहरूको समग्र स्वास्थ्य अवस्था राम्रो हुने गरेको छ।
संस्कृतिविदको आलोचना
२०८० वैशाख १ गते नेपाली नयाँ वर्षको दिन दोलखाको शैलुङ पहाडको टाकुरा पुगेर आफ्नो गाउँ फर्किँदै गरेका स्थानीयवासी। तस्बिरः सुरेन्द्र फुयाल
पछिल्लो राष्ट्र संघीय घोषणालाई खासगरी कूटनीतिज्ञ तथा पर्यटन व्यवसायी तथा विज्ञहरूले निकै सकारात्मक रूपमा लिएका छन्। तर एक नेपाली संस्कृतिविदले 'छिमेकी देशको देखासिकीमा गरिएको पहल' ले सार्थक परिणाम दिनेमा गम्भीर आशंका व्यक्त गरेका छन्।
संस्कृतिविद गोविन्द टण्डनका विचारमा लक्ष्य र उद्देश्य प्रस्ट नभइकन गरे–गराइएका घोषणाले नेपालीको जीवनस्तर माथि उकास्न सक्दैन।
त्यसअघि नेपाल भित्र आरोग्यको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव टण्डन नेपालभर खुलेका मानव सेवा आश्रममा पनि सक्रिय छन्।
उनको प्रश्न छ, 'हामीले देशभित्र आरोग्यका लागि के के काम गरेका छौं त? शिक्षा क्षेत्र पूरै भद्रगोल र कमजोर छ। स्वास्थ्यको कुरा गर्दा दुर्गम क्षेत्रमा मानिसहरू बिरामी हुँदा उपचारका लागि अस्पताल अभाव छ। पहाडका बस्तीहरू सबै रित्तिएर कोही गाउँमा बस्न सक्ने स्थिति छैन। बाटोघाटो बिग्रिएका कारण सडकमै मानिसको ज्यान गइरहेको छ।'
'अब भुटानले खुसी दिवस ल्यायो वा भारतले योग दिवस ल्यायो भनेर नेपालले आरोग्य दिवस सुरू गर्दैमा देशभित्र धेरै फरक पर्दैन। हामीले गरिबीको रेखामुनि रहेका मानिस तथा देशै छोडेर विदेशिन बाध्य युवाको जीवनमा सुधार गर्ने सार्थक योजना नल्याएसम्म कुनै दिवसले केही फरक पार्नेवाला छैन।'
तर राष्ट्र संघको भनाइमा सबैका लागि आरोग्यता प्रवर्द्धन गर्दा जीवन बचाउन, स्वास्थ्य उपचारमा हुने खर्च घटाउन र रोकथाम गर्न सकिने रोगको उपचारमा हुने खर्च घटाउन सहयोग पुग्छ।
'यस्तो अभ्यासले जनस्वास्थ्यलाई सवल बनाउन र विश्वभर सबैका लागि सुस्वास्थ्य हासिल गर्न सहयोग पुग्छ।'
'अप्रिल १५ मा मनाइने यो दिवस मार्फत शिक्षा, सांस्कृतिक तथा ज्ञान आदानप्रदान गर्दै सबै ठाउँका मानिसलाई सर्वसुलभ आरोग्य अभ्यासमा सहभागी भई व्यक्तिगत तथा सामूहिक स्वास्थ्य लाभ गर्न प्रेरणा मिल्नेछ।'
राष्ट्र संघको भनाइमा ध्यान, योग, खुसी र आरोग्य जस्ता दिवस मनाएर आरोग्यता प्रवर्द्धन गर्दै आपसमा मेलखाने र सन्तुलित जीवनशैली अपनाउन सम्भव हुनेछ।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal