भदौ २४ को जेन-जी आन्दोलनमा संलग्न भएका १२ जना कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिलेसम्म आन्दोलनमा तोडफोड तथा आगजनीमा संलग्न ५३ जना पक्राउ परेका छन्। उनीहरु मध्ये ४१ जना धरौटीमा छुटेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।
आगजनी र तोडफोडको विषयमा जिल्ला प्रहरीमा ८४ वटा जाहेरी दर्ता भएका थिए।
ती जाहेरी ६२ वटा सरकारी कार्यालय, ९ वटा पार्टी कार्यालय तथा सञ्चार संस्था, ३ वटा व्यवसाय र १० जना व्यक्तिकोतर्फबाट परेको एसपी पुरीले बताए।
‘८४ मुद्दाबाट ९३ जना पहिचान भएकोमा ५३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थियौं। अन्यको खोजी भइरहेको छ,’ उनले भने।
७४ वटा अपराधिक उपद्रव, ७ वटा अभद्र व्यवहार, २ वटा चोरी र एउटा लागुऔषध मुद्दा चलाएको प्रहरीले जनाएको छ।
८ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको, ३ जना धरौटी बुझाउन नसकेर कारागार गएको एसपी पुरीले बताए।
कारागार पठाइएका बाँकी १ जना लागु औषध मुद्दामा फरार थिए। उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ।
मुद्दा चलाइएका मध्ये ७ जना पटके छन्। उनीहरु बिगतमा ज्यान मार्ने उद्योग, अभद्र व्यवहार र लागु औषध मुद्दामा पक्राउ परेर छुटेका थिए।
‘क्षति पुगेका सबैजसो सरकारी कार्यालयले जाहेरी दिएका थिए। हामीले प्राप्त फोटो, भिडिओ प्रमाणको आधारमा पहिचान गरेर नियन्त्रणमा लिई कारबाही प्रक्रियामा लग्यौं। तोडफोडमा संलग्नहरु राजनीतिक दलमा आवद्धदेखि विगतमा पनि अपराधमा संलग्नहरु छन्,’ एसपी पुरीले सेतोपाटीसँग भने, ‘एउटै व्यक्ति धेरैतिर पुगेको देखिन्छ। प्रहरी चौकी, वडा कार्यालय, पार्टी कार्यालय देखि निजी सम्पत्ति तोडफोडमा पनि संलग्न पाइयो।’
केही दिन अघि सार्वजनिक भएको पूर्वन्यायाधीस गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनमा चितवनमा क्रियाशील प्रमुख राजनीतिक दलका कार्यकर्ताहरू नै तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न भएको उल्लेख थियो।
कतिपय कार्यालय तोडफोड र आगजनीमा सुरूमा भीडलाई नेतृत्व गर्नेमा मुख्य दलका नेता/कार्यकर्ताकै संलग्नता रहेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार भदौ २३ र २४ गते भएका उग्र प्रदर्शनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (विप्लव समूह), नेकपा (बहुमत) समूहका जिल्ला तथा नगर स्तरका नेता-कार्यकर्ताहरूको प्रत्यक्ष उपस्थिति र नेतृत्व देखिएको थियो। सुरुमा युवाहरूको स्वतःस्फूर्त सहभागिता देखिए पनि पछि आपराधिक समूह, ज्याला मजदुरी गर्ने समूह, कवाडी संकलन गर्ने समूह सर्वसाधारण सबैको सहभागिता रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
क्षति मूल्याङ्कन समितिले पेश गरेको प्रतिवेदन अनुसार १ अर्ब ६१ करोड ८४ लाख २१ हजार ८४० रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको पाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। यसमा पूर्णरुपमा क्षति पुगेको भाटभाटेनी सुपरमार्केटको क्षतिको विवरण समावेश छैन। भाटभाटेनीले ६९ करोड ८४ लाख ३० हजार १९२ रुपैयाँ बराबरको क्षति भएको दाबीसहित प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।
जेन-जी आन्दोलनमा प्रदर्शनकारीले चितवनमा ५३ वटा सरकारी कार्यालय, ७४ वटा पालिका तथा वडा कार्यालयका भवनहरूमा तोडफोड र आगजनी गरेको प्रजिअ अर्यालले बताए। यस्तै, ६ वटा राजनीतिक दलका कार्यालय, ५१ वटा निजी भवन, एउटा संचार संस्था, ८६ वटा चारपाङ्ग्रे र १०६ वटा दुईपाङ्ग्रे सवारी साधन तोडफोड भएको थियो। आगजनीको क्रममा भवनभित्र सामान लिन छिरेका एक भारतीय मूलका सहित दुई जना प्रदर्शनकारीको जलेर मृत्यु समेत भएको थियो।