सौराहाको राप्ती किनारबाट पूर्वतर्फको सडकमा हिँड्ने जो कोहीको नजर अहिले चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुगेर टक्क अडिन्छ। मान्छेहरू क्यामेरा, मोबाइल निकालेर फोटो खिच्न थाल्छन्। कोही निकैबेर टोलाउँछन्।
यहाँको फोहोर र कुरूप देखिने निर्जीव सिमेन्टका भित्ताले अहिले चितवनको जैविक विविधता र संरक्षणको जीवन्त कथा सुनाइरहेका छन्।
निकुञ्ज प्रवेशद्वारदेखि हात्तीसारसम्मको करिब ५ सय मिटर लामो पर्खाल अहिले एउटा यस्तो ‘ओपन आर्ट ग्यालरी’ बनेको छ, जसले यहाँ आउने पर्यटकलाई जंगल छिर्नुअघि नै प्रकृतिसँग साक्षात्कार गराउँछ।
यो सुन्दर परिवर्तनको सूत्रधार हुन् रत्ननगर नगरपालिका-६ का वडा सदस्य पनि रहेका संरक्षणकर्मी वीरेन्द्र महतो।
दैनिक १० पटकसम्म यही बाटो ओहोरदोहोर गर्ने महतोलाई ती कुरूप भित्ताले सधैं गिज्याइरहन्थे।
-1776152744.jpg)
-1776152744.jpg)
‘काठमाडौं जाँदा सडक छेउमा कोरिएका भित्ते चित्र देख्थें। निकै सुन्दर लाग्थ्यो। संरक्षणको क्षेत्रमा काम गरिरहेको छु, म आफै आदिवासी पनि हुँ, किन यो पर्खालमा पनि त्यस्तै चित्र कोरेर चेतना फैलाउने माध्यम नबनाउने भन्ने सोच आयो,’ महतोले भने, ‘एउटा प्रस्ताव तयार गरेर ताल/डब्लुडब्लुएफ (विश्व वन्यजन्तु कोष) लाई पेस गरेँ। कोषले ५ लाख रुपैयाँ बजेट सहित साथ दियो। अनि काम सुरू भइहाल्यो।’
यो काममा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहयोग छ। यहाँको पर्खालमा पेन्टिङको काम सुरू भएको करिब एक महिना भयो। ५ हजार वर्ग फिटको यो विशाल क्यानभास रंगाउने अभियान अबको एक महिनामा सक्ने लक्ष्य रहेको कोषका प्रेम पौडेलले बताए।
महतो पर्खालमा कोरिएका हरेक रङ र रेखामा गहिरो दर्शन लुकेको बताउँछन्।
‘हरेक चित्रभित्र कथा छ। जसले मान्छेलाई संरक्षणमा प्रेरित गर्न भूमिका खेल्छ,’ उनी भन्छन्, ‘पहिले मानिसहरूले कोर्ने र जथाभावी गर्ने यो ठाउँमा अब केही नबुझ्नेलाई पनि चितवन निकुञ्जको नजिक आएको फिल हुन्छ।’
एउटा चित्रमा तराजुको एकातर्फ हात्ती, गैँडा र बाघ छन् भने अर्कोतर्फ मानव परिवार। त्यसको माथि लेखिएको छ, ‘हाम्रो दायित्व: मानव-वन्यजन्तु सह-अस्तित्व’।
यहाँ चितवनको मुख्य चुनौती र समाधान दुवै एउटै फ्रेममा अटाएका छन्।
‘यसले सबै प्राणीको पृथ्वीमा समान हक छ भन्छ। यसका लागि हामीले सह-अस्थित्वलाई स्वीकार्नुपर्छ। त्यसबाट मात्रै द्वन्द्व कम हुनसक्छ भन्ने यो चित्रको मर्म हो,’ महतो भन्छन्।
-1776152744.jpg)
-1776152744.jpg)
त्यस्तै, पाटे बाघको सजीव चित्रणसँगै लेखिएको छ ‘सबैलाई जोगाउन एउटालाई जोगाऔं’। यसले पारिस्थितिकीय प्रणालीको संवेदनशीलतालाई बुझाउने महतोले बताए।
एक सिंगे गैंडा, घडियाल, मगर गोही, भालु, मृग, हरिण, मयुर र चराचुरुङ्गीका चित्रहरूले पर्यटकलाई लोभ्याउनुका साथै स्थानीयलाई पनि संरक्षणमा सचेत बनाएको उनले बताए।
पर्खालसँग ‘वाकिङ’ र ‘साइकल जोन’ जोडिएको छ। वाकिङ जोनमा पहिले आफ्नै धुनमा हिँड्नेहरू अहिले यहाँ रोकिन्छन्, चित्रसँगै सेल्फी खिच्छन् र त्यहाँ लेखिएका सन्देशहरू ध्यान दिएर पढ्छन्।
संरक्षणकर्मी बासु बिडारी भन्छन्, ‘यसले सचेतनामा ठूलो सहयोग पुर्याएको छ। यसबाट भ्रमणमा आउनेले वन र वन्यजन्तुको महत्व सजिलै बुझ्न सक्छन्।’
केपी आर्ट-सौराहाका ३ जना दक्ष ‘वाइल्डलाइफ पेन्टर’हरूले एक महिनादेखि यहाँ चित्र कोरिरहेका छन्। अबको एक महिनामा पहिलो चरणको काम सकिने महतो बताउँछन्।
‘तर, यो अभियान यतिमै रोकिने छैन। रत्ननगर नगरपालिका क्षेत्रभित्र मात्रै १.५ किलोमिटर लामो यस्तो पर्खाल छ। अर्को वर्ष नगरपालिका, वडा र सामुदायिक वनहरूसँग सहकार्य गरेर यसलाई जिन्दगानीघाटसम्म विस्तार गर्न प्रयास गर्छौं,’ वडा सदस्य महतोले भने।
मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न भनेर निकुञ्ज र बस्तीको बीचमा पर्खाल खडा गर्ने गरिएको छ।
-1776152742.jpg)
-1776152741.jpg)
-1776152741.jpg)
-1776152743.jpg)
-1776152743.jpg)
-1776152743.jpg)
-1776152742.jpg)
-1776152742.jpg)