सार्वजनिक यातायातमा यात्रु गर्ने सर्वसाधरणको सामानमा लगेज ट्याग राख्न ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहमति भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष सरोज सिटौलाबीच शुक्रबार सहमति भएको हो।
सार्वजनिक यात्रुवाहक सेवामा यात्रुहरूको ब्याग वा लगेज सुरक्षित व्यवस्थापन गर्न अनिवार्य रूपमा ट्याग प्रणाली लागू गर्न दुई पक्षबीच सहमति भएको हो।
यसका लागि व्यवसायीले मातहतका सबै सार्वजनिक सवारीसाधनमा यात्रुहरूको झोलामा अनिवार्य रूपमा दुईप्रति ट्याग गर्नुपर्ने भएको हो।
एउटा ट्याग यात्रुको सामानमा टाँस्ने र सामानको ट्याग भिडान गरेर मात्र सामान फिर्ता गर्ने दुई पक्षबीचको सहमतिमा उल्लेख छ।
गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामनको ट्याग भिडान गरीमात्रै सामान फिर्ता गर्ने, यसका लागि चालक र सहचालकलाई तालिम दिने लगायतका सहमति भएका छन्।
यसबीच सवारीसाधनमा खटिने कर्मचारीको तर्फबाट लापरवाहीका कारण सामान हराएमा वा क्षति भएमा कानुन वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति दिनुपर्ने भएको छ।
ट्याग हराएको यात्रुको हमा आधिकारिक पहिचान र सामानको पूर्ण विवरण पुष्टि नभएसम्म सामानको जिम्मा नलगाइने भएको हो।