सन् २०२३ को सेप्टेम्बरमा अमेरिकाका चार रिपब्लिकन सिनेटरले राष्ट्रपति जो बाइडेनलाई एउटा पत्र लेखेका थिए।
उनीहरूको माग थियो— अमेरिकाले युक्रेनलाई तत्काल लामो दूरीका एट्याकम्स क्षेप्यास्त्र पठाओस्। ढिलो भयो भने रूस–युक्रेन युद्ध लम्बिन्छ। थप ज्यान जान्छ। अमेरिकी सुरक्षामा पनि असर पर्छ।
ती चार सिनेटर थिए— टम कटन, रोजर विकर, सुसन कोलिन्स र लिन्डसी ग्राहम।
त्यसको तीन वर्षपछि अहिले परिस्थिति फरक छ।
सन् २०२४ मा राष्ट्रपति चुनाव जितेर डोनाल्ड ट्रम्पले ह्वाइट हाउस सम्हालेका छन्।
सुरूदेखि नै रूसका बारेमा ट्रम्पको कस्तो नीति हुन्छ भन्ने अनिश्चय थियो।अहिले समयले झनै कोल्टे फेरेको जस्तो देखिएको छ।
ट्रम्पले रूसलाई डिजेल बेच्ने बाटो खोलिदिएका छन्। युक्रेनलाई भने रूसी तेल प्रशोधन केन्द्रमा हमला रोक्न दबाब दिएका छन्। यही बेला युक्रेनले युद्धमा प्रयोग गर्ने अमेरिकी स्याटेलाइट सेवामा पनि अवरोध आएको छ।
ट्रम्पको डिजेल सम्झौताको विरोधमा अहिले ६ रिपब्लिकन र ६ डेमोक्र्याट सिनेटरले फेरि उनलाई पत्र लेखेका छन्।
तर ट्रम्पले त्यसलाई सुन्ने कुनै संकेत देखाएका छैनन्।
के हो यो डिजेल सम्झौता?
अक्टोबर ९ मा अमेरिकी अर्थ मन्त्रालयले ‘जनरल लाइसेन्स १३५’ जारी गर्यो। यसले रूसी डिजेलको बिक्री, ढुवानी र अमेरिकासमेतका बजारमा आयातसम्बन्धी कारोबारलाई प्रतिबन्धबाट छुट दियो। यो अनुमति सन् २०२७ अप्रिल ७ सम्मका लागि हो।
यसको अर्थ रूसलाई पहिले रोकिएको व्यापारको बाटो खुलेको छ। अब अमेरिकाले रूसी डिजेल किन्न सक्नेछ। ट्रम्पका अनुसार रूसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल अमेरिकी र विश्वबजारमा ल्याउनेछ। पछि थप ल्याउनेछ। क्रेमलिनले निर्यात सुरू भएको बताएको छ।
यो निर्णयले अमेरिकामा प्रश्न र तीव्र प्रतिक्रिया जन्माएको छ। युक्रेनमा आक्रोश छ। युरोपेली नेताहरूले पनि कडा प्रतिक्रिया दिएका छन् र प्रश्न गरेका छन्।
‘द न्युयोर्क टाइम्स’का स्तम्भकार थोमस एल फ्रिडम्यानले सबैभन्दा कडा शब्दमा ट्रम्पको नीतिको आलोचना गरेका छन्। उनको आरोप छ— ट्रम्पले डिजेलसँग डिमोक्रेसी साटेका छन्। उनी युक्रेनको लोकतन्त्रप्रतिको अमेरिकी समर्थन रूसको तेलसँग साट्दै छन्।
फ्रिडम्यानले ट्रम्पलाई दोस्रो विश्वयुद्धअघि हिटलरसँग सम्झौता गरेका बेलायती प्रधानमन्त्री नेभिल च्याम्बरलेनसँग तुलना गरेका छन्। उनको प्रश्न गम्भीर छ— अमेरिकामा इन्धन सस्तो पार्ने नाममा आक्रमणकारी रूसलाई छुट र आक्रमणमा परेको युक्रेनलाई अमेरिकी दबाब किन?
यहाँ ‘डेमोक्रेसी’ कुनै अमूर्त शब्द होइन। युक्रेन आफ्नै सीमा, सरकार र भविष्यबारे आफैं निर्णय गर्ने अधिकारका लागि लडिरहेको छ। अमेरिकाले उसलाई त्यस लडाइँमा सघाउँदै आएको थियो। अहिले ट्रम्पले अमेरिकी नीतिको दिशा बदल्दै छन् कि भन्ने चिन्ता धेरैले गरेका छन्।
ट्रम्पले यो बाटो किन रोजे?
अमेरिकामा इन्धन महँगिएको छ। नोभेम्बरमा हाउस अफ रिप्रेजेन्टेटिभ्सका पूरै सिट र सिनेटका एक तिहाइ सिटमा मध्यावधि निर्वाचन हुँदै छ। ग्यासको भाउ बढेको र महँगी बढेकाले मतदातालाई असर गर्छ। उनीहरूले रिसाएर रिपब्लिकन उम्मेदवारहरूलाई हराउन सक्छन्। अहिले गरिएका निर्वाचन सर्भेहरूमा मतदाताको यो रूझान झल्किएको छ।
त्यसैले राष्ट्रपति ट्रम्प आत्तिएका छन्। र रूससँग डिल गरेर तेलको भाउ र मूल्यवृद्धि घटाउन चाहन्छन्।
तर मूल्यवृद्धिको ठूलो र मुख्य कारण अमेरिका र इजरायलको इरानसँगको युद्ध र होर्मुज जलमार्गमा आएको अवरोध हो भन्ने ऊर्जा विज्ञहरूको मूल्याङ्कन छ। ट्रम्पले भने युक्रेनले रूसी तेल प्रशोधन केन्द्रमा गरेको हमलाका कारण पनि मूल्य बढेको तर्क गरेका छन्। ती हमलाको मूल्यमा परेको असर कति हो भन्ने स्वतन्त्र हिसाब भने सार्वजनिक छैन।
ट्रम्पले अमेरिकामा रूसी डिजेलले आपूर्ति बढाउने बताएका छन्। तर उनले भनेको तत्कालको तीन लाख टन अमेरिकाको यातायात क्षेत्रले एक दिनमा खपत गर्ने डिजेलभन्दा पनि कम हो। रूसबाट करिब ४० हजार टन डिजेल बोकेको एउटा जहाज मोरक्कोतर्फ गएको विवरण सार्वजनिक भएको छ। योसँगै रूसी डिजेल खुलेको छ भन्ने स्पष्ट भएको छ। त्यसले अमेरिकी उपभोक्तालाई कति राहत दिन्छ भन्ने स्पष्ट छैन।
सम्झौताबाट ट्रम्पको अर्को अपेक्षा पनि छ। रोयटर्सका अनुसार अमेरिकी प्रतिनिधिहरूले डिजेल कारोबारले मस्कोलाई शान्तिवार्तामा लचिलो बनाउन सक्ने आशा व्यक्त गरेका छन्। त्यो आशा पूरा हुन्छ कि हुँदैन, अहिल्यै भन्न सकिँदैन।
यो ‘डिल’सँगै रूसले युक्रेन युद्धमा कुनै राजनीतिक वा सैन्य छुट दियो कि भन्ने केही खुलेको छैन।
यसकारणले पनि अमेरिकी सिनेटरहरू चिन्तित देखिएका हुन्। अक्टोबर १३ मा पत्र लेखेका १२ सिनेटरले महँगो इन्धनको मारमा अमेरिकी जनता परेको स्वीकार गरेका छन्। तर रूसी डिजेलले अमेरिकी मूल्यमा नगण्य राहत दिने अनि क्रेमलिनलाई भने युद्धका लागि आम्दानी जुटाउने उनीहरूको तर्क छ। साथै अमेरिकाले आफ्नो लोकतान्त्रिक मूल्यमान्यतामा सम्झौता गरेको अर्थ लाग्ने पनि उनीहरूको चिन्ता छ।
यी सबै कारणले उनीहरूले सम्झौता फिर्ता लिन, अर्थ मन्त्रालयको अनुमति खारेज गर्न र कांग्रेसले स्वीकृत गरेका थप प्रतिबन्ध लागू गर्न माग गरेका छन्।
युक्रेनका लागि यो तेलको मूल्यको कुरा मात्र होइन। यसले युद्धमैदानमा प्रभाव पार्नेछ। रूसी तेल प्रशोधन केन्द्रमा हमला रोक्न वासिङ्टनले उसलाई दबाब दिएको छ। रूसले भने युक्रेनका ऊर्जा संरचनामा हमला जारी राखेको छ। ट्रम्पले रूसमाथि भने युक्रेनका संरचनामा हमला नगर्न दबाब दिएका छैनन्।
युक्रेनी समाचार संस्था एनभीका सम्पादक भिताली सिच यसबाट आक्रोशित छन्। उनले ‘आक्रमणकारी’ रूसका सर्त मान्न युक्रेनलाई बाध्य पार्न खोजिएको भन्दै आक्रोश पोखेका छन्। रूसी हमलाबाट युक्रेनका नागरिक मारिइरहँदा अमेरिकाको चिन्ता भने रूसी डिजेलमा केन्द्रित भएको भनेर उनले टिप्पणी गरेका छन्।
यही बेला अर्को घटना भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार तीव्र गतिमा उड्ने ड्रोनमा प्रयोग हुने स्टारसिल्ड स्याटेलाइट सेवा सीमित गरिएको छ। स्टारसिल्ड स्टारलिंकको सञ्जालमा आधारित, अमेरिकी सरकारको प्रयोगमा रहेको सैन्य सेवा हो। सेवा सीमित हुँदा रूसी ड्रोन रोक्ने र रूसी मोर्चामा कारबाही गर्ने युक्रेनको क्षमतामा असर परेको उसले जनाएको छ।
अर्को घटना पनि भएको छ— रूसी क्षेप्यास्त्रले आक्रमण गर्न लागेको सूचना अमेरिकाले युक्रेनलाई दिने गर्छ। यस्तो पूर्वसूचना पनि केही दिन आएन।
अमेरिकाले रूससँग डिजेल डिल गरेपछि भएका यी घटना संयोगवश मात्र भएका हुन् वा अमेरिकाले रणनीतिक रूपमै यसो गरेको हो, अहिलेसम्म यकिन भएको छैन।
तर नेपाली उखान ‘स्याल पनि कराउनु, घोर्ले पनि हराउनु’ जस्तो भएपछि युक्रेन र युरोपलाई यसले पनि चिन्तित बनाएको छ।
अक्टोबर १५ मा नौ अमेरिकी सिनेटरले रक्षा मन्त्रालयका महानिरीक्षकलाई यस घटनामा पनि छानबिन गर्न पत्र लेखेका छन्। त्यसमध्ये चार जना रिपब्लिकन छन्। स्टारलिंक र स्टारसिल्ड सेवा कसले सीमित गर्यो? अमेरिकी अधिकारीलाई पहिल्यै थाहा थियो? क्षेप्यास्त्रको पूर्वसूचना नआउनुसँग यसको सम्बन्ध छ? यी प्रश्नको जवाफ उनीहरूले मागेका छन्।
पत्रमा रूसी हवाई हमलाका बेला केही अमेरिकी कर्मचारी तोकिएको सुरक्षित ठाउँमा पुग्न नसकेको विवरण पनि छ। त्यसको स्वतन्त्र पुष्टि र कारण खुलेको छैन। अमेरिकी कर्मचारीकै सुरक्षाबारे प्रश्न उठेपछि थप चासो थपिएको छ।
रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै स्टारसिल्ड सीमित गर्ने निर्देशन ह्वाइट हाउसबाट आएको जनाएको छ। निर्णय कसले गर्यो र कसले लागू गर्यो, खुलेको छैन। एक वरिष्ठ अमेरिकी अधिकारीले राष्ट्रपति स्वयंले त्यस्तो अनुरोध नगरेको बताएका छन्। ट्रम्पले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान जारी रहेको बताएका छन्।
डिजेल सम्झौता र स्याटेलाइट सेवाको अवरोध एउटै लेनदेनका हिस्सा थिए भन्ने स्पष्ट प्रमाण अहिलेसम्म आएको छैन। तर युद्धमा ड्रोन नियन्त्रण र क्षेप्यास्त्रको पूर्वसूचनामा आएको अवरोध आफैंमा गम्भीर विषय हो। त्यसैले सिनेटरहरूले छानबिन माग गरेका हुन्।
यी घटनाक्रमसँगै युरोपको चिन्ता पनि थपिएको छ— अमेरिकी सहयोग कति भरपर्दो छ? रूसमाथिको दबाब घट्दा युक्रेनको प्रतिरक्षा कसरी टिक्छ?
अक्टोबर १५ मा पत्रकारहरूले युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासलाई सोधे— अमेरिका अझै युक्रेनको भरपर्दो साझेदार हो? अमेरिकी र युरोपेली दृष्टिकोण फरक भएको उनले स्वीकार गरिन्। युद्ध रोक्न रूसमाथि दबाब दिनुपर्छ, युक्रेनलाई आत्मसमर्पणतर्फ धकेल्नु हुँदैन, उनको जवाफ थियो।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले रूसले युक्रेनका नागरिक र ऊर्जा संरचनामाथि हमला गरिरहँदा रूसलाई भने छुट दिन नसकिने जनाएका छन्।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले डिजेल सम्झौतालाई ‘धेरै जोखिमपूर्ण छनोट’ भनेकी छन्। मूल्य मुख्यतः इरान युद्धले बढेको उनको भनाइ छ। त्यसको उपचारका नाममा रूसलाई आम्दानी र कूटनीतिक मान्यता किन दिने भन्ने उनको प्रश्न छ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहामले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेर थप क्षेप्यास्त्र सहयोगको योजना बताएका छन्। ब्रसेल्स सम्मेलनको दोस्रो दिन, अक्टोबर १६ मा, युरोपेली नेताहरूले जाडोअघि युक्रेनलाई चाहिने प्रतिरक्षा र ऊर्जा सहयोगबारे छलफल गर्ने कार्यसूची छ।
युरोपले युक्रेनको साथमा उभिने बताएको छ। तर अमेरिकी स्याटेलाइट सेवा र गुप्तचर सूचनाको तत्काल पूर्ण विकल्प उसँग छैन। त्यसैले उसका लागि यो एउटा डिजेल सम्झौताको मात्र प्रश्न होइन। भोलि अमेरिकी सहयोग अझ अनिश्चित भयो भने युक्रेनलाई कसरी जोगाउने भन्ने पेचिलो प्रश्न युरोपसामु छ।
न्युयोर्क टाइम्सका पत्रकार फ्रिडम्यानले यसलाई अमेरिकी मूल्यको परीक्षा भनेका छन्। युरोपका लागि भने यो सुरक्षा र अमेरिकी साथमाथिको भरोसाको प्रश्न हो।
अमेरिकी नागरिक सस्तो इन्धन चाहन्छन्। महँगो डिजेलको मार हामीले किन सहने भन्ने कतिपयको प्रश्न नभएको होइन। तर रूसी डिजेलको व्यापार खोलेर अमेरिकी मूल्य कति घट्छ भन्ने प्रश्न पनि सँगसँगै छ।
तर ट्रम्पको यो डिजेल डिलको सबैभन्दा पेचिलो प्रश्न भने उसले रूसलाई दिएको छुटसँगै युक्रेनमाथि बढाएको दबाबको हो— रूसले युक्रेनका ऊर्जा संरचनामा हमला जारी राख्दा युक्रेनलाई रूसी प्रशोधन केन्द्रमा हमला रोक्न किन दबाब दिइँदै छ?
सन् २०२३ मा युक्रेनलाई क्षेप्यास्त्र पठाउन ढिलाइले थप ज्यान जाने चेतावनी दिने अमेरिकी सिनेटर र राजनीतिज्ञहरूसामु यो प्रश्न कम पेचिलो रूपमा उभिएको छैन।