दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा पार्किङ गरिराखेको बसमा आगो लाग्यो।
रा १ ख ३०३८ नम्बरको बसमा शनिबार एक्कासी आगो लागेको थियो।
बस तुलसीपुर वडा नम्बर ८ कटकुँइयाँका ३२ वर्षीय दुर्गा डाँगीको हो। उनले डेढ वर्ष यो बस किनेका थिए।
डाँगीका अनुसार बस दाङको तुलसीपुर हुँदै भारतको सिम्लाका लागि सञ्चालन हुँदै आएको थियो।
बसमा लागेको आगो समयमै निभाउन सकिएन। तुलसीपुरमा दमकल छैन।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार बसमा आगो लागेकोबारे प्रहरीलाई बेलुकी ८ बजेतिर खबर आएकोमा तत्काल प्रहरी घटनास्थल पुगेको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय मिलेर आगो निभाउने प्रयास गरेका थिए। स्थानीय घरहरूबाट बाल्टिनमा ल्याएको पानीले आगो निभाउने प्रयास गरिएको हो।
‘बसमा आगलागी भयो, केही फलामबाहेक बचेन,’ डाँगीले भने, ‘सुरक्षाकर्मी र स्थानीयहरूले आगो निभाउन प्रयास गर्नुभएको हो। तर यहाँ दमकल छैन।’ ट्यांकरबाट पानी ल्याएर आगो निभाउने प्रयास पनि भएको थियो।
तुलसीपुर उपमहानगरको दमकल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको थियो।
पार्किङ गरिराखेको बसमा के कारणले आगो लाग्यो भन्ने खुलेको छैन।
डिएसपी पराजुलीका अनुसार सिसी टिभी फुटेज अध्ययन भइरहेको भए पनि बसमा आगलागी हुँदाको क्षणमा बिजुली बत्ती गएको केही समस्या देखिएको छ।
बससँगै पार्किङ गरेको अर्को सवारी साधनमा पनि सामान्य क्षति पुगेको छ।
तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले उपमहानगरको दमकल आगजनी भएपछि नयाँ दमकल खरिदको प्रक्रिया थालिएको बताएका छन्।
‘दमकल खरिदको प्रक्रियामा छ तर थोरै समस्या देखिएको हुँदा राय मागेका छौं। त्यो काम पूरा भएमा तीन/चा महिनापछि दमकल आउला,’ उनले भने।
लुम्बिनी प्रदेश सरकारसँग दमकल माग गरिएको तर प्राप्त नभएको उनले बताए।
‘लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा दुई वटा नयाँ दमकल रहेछ। हामीले एउटा उपलब्ध गराउन आग्रह गर्दा पनि भुक्तानी बाँकी छ भन्दै दिन इन्कार गरियो,’ उनले भने।