बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका –९ बस्तिपुर बस्ने १८ वर्षीय रोहित महतो र लालबन्दी –६ ढुकढुकी एफ एम टोल बस्ने २० वर्षीय गणेश महतोको मृत्यु भएको हो।
शनिबार बेपत्ता भएका दुवै जनाको शव खोजी गर्दा आज फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले बताए।
‘पाँच जना घुम्न भनेर गएका रहेछन, नदी तर्ने क्रममा बगाएको रहेछ, तीन जना पौडिएर बाहिर निस्कन सफल भए पनि दुई जना बेपत्ता भए,’ उनले भने, ‘घटनाबारे खबर पाएदेखि नै खोज तलास सुरू गरेका थियौं, बेपत्ता दुवै जनाको शव आज भेटिएको छ।’
आइतबार बिहान सवा १० बजे बागमती नपा ११ बागमती पुलभन्दा करिब ५० मिटर उत्त तर्फ बागमती नदीको पानीमा रोहितको शव फेला परेको थियो। घटना स्थल जाँच मुचुल्का पछि मध्याह्न उनको शवलाई पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ।
साढे १ बजेतिर बागमती न.पा. ११ बागमती पुलभन्दा अन्दाजी १ किलोमिटर उतरतर्फ बागमती नदीको ड्याम साइडको पानीमा गणेशको शव फेला परेको थियो। घटनामा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार शनिबार अपराह्न उनीहरूसहित ५ जना साथीहरू रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झुलुङगे पुल मुनि बाग्मती नदीमा गएका थिए।
सर्लाहीकै बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्द अखतर र सर्लाहीकै ब्रहमपुरी गाउँपालिका–३ बस्ने २० वर्षीय श्याम भण्डारी सकुशल छन्।
प्रहरीले घटनाबारे राति ८ बजेतिर जानकारी पाएको थियो। नदीले बगाएर ल्याउन सक्ने संभावित स्थानमा खोजतलासका लागि इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय कर्मैयाबाट टोली खटिएको थियो।