पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजी तथा बढ्दो महँगी नियन्त्रणको माग गर्दै चितवनमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
आइतबार भरतपुरमा ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानासहितले आयोजित मोटरसाइकल धकेल्ने र्याली गरिएको हो।
गरिखान देउ चितवन अध्यायका संयोजक विशु गुरुङ्गको नेतृत्व तथा जेनजी अभियन्ता ढुंगानाको आतिथ्यतामा चौबिसकोठीबाट सुरू भई लायन्सचोकसम्म र्याली गरिएको थियो। पछि कोणसभामा गरिएको थियो।
र्यालीमा सहभागी सयौं युवाहरूले मोटरसाइकल तथा स्कुटर नचलाई हातले धकेल्दै सरकारविरुद्ध सांकेतिक विरोध जनाएका थिए।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि गरिरहेको भन्दै युवाहरूले ‘पेट्रोलियम पदार्थमा ६ कर माफ गर’, ‘महँगीको मारमा जनता’, ‘गरी खान देऊ’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।
सहभागीहरूले प्लेकार्ड र ब्यानर बोकेर सरकारलाई महँगी नियन्त्रण र कर घटाउन दबाब दिएका थिए।
प्रदर्शनकारीहरूले पेट्रोलियम पदार्थमा लगाइएका ६ प्रकारका कर तत्काल खारेज गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने तथा जनताको ढाड सेक्ने महँगीप्रति सरकार जवाफदेही बन्नुपर्ने माग गरेका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी









