जेठको तातो हावा र चर्को गर्मी छल्न तराईका नदी, खोला तथा तलाउहरूमा मानिसहरूको भिड लाग्न थालेको छ।
बुटवलमा पनि चर्को गर्मी छल्न तिनाउ नदिमा युवायुवतीहरूको दैनिक ठूलो भिड लाग्छ।
जेठको तातो हावा तथा जताततै ढलान र पिच गरिएका सडकबाट निस्किएको रापलाई केही समय भए पनि छल्न तिनाउमा पौडी खेल्न जानेहरूको संख्या दैनिक बाक्लिँदै गएको छ।
पाल्पाको माडीबाट सुरु हुने तिनाउमा दर्जनौँ साना तिना खोल्सी मिसिएर बुटवल आइपुग्छ।
पहाडका खोँचबाट बग्दै आएको तिनाउको चिसो पानी उखरमाउलो गर्मीले अत्तालिएका बुटवलका तन्नेरी पुस्ताका लागि 'प्राकृतिक एसी' जस्तै बनेको छ।
बुटवलको तिनाउमा मात्र होइन चिडिया खोला, सिद्ध बाबा नजिकै रहेको हेड बक्स, दोभान, झुम्सा लगायतका क्षेत्रमा चैत लागेदेखि नै पौडी खेल्न जाने युवायुवतीहरूको भिड लाग्छ।
त्यो भिड वैशाख जेठको गर्मीमा झनै बढ्छ।
जेठ लागेसँगै बढेको चर्को गर्मी र तातो हावाका कारण अहिले तिनाउ नदीमा पौडी खेल्न जानेहरूको भिड थेगिनसक्नु छ।
सार्वजनिक बिदाको दिन मात्र होइन र स्कुल कलेज र कार्यालयको ड्युटी सकिए पछिको समयमा तिनाउका विभिन्न घाट र खोँचहरूमा मेला लागेजस्तै युवायुवतीहरू भरिन्छन्।
साथीहरूसँगै चिडिया खोलामा पौडी खेलिरहेका बुटवल कालिका पथका सुमित थापा घरमा बस्दा गर्मीले टाउको फुट्ला जस्तै भएपछि पौडी खेल्न आएको बताए।
‘घरमा पङ्खा चलाएर बसे पनि पसिनाले निथ्रुक्क भिजिन्छ, यहाँको चिसो पानीमा पौडी खेल्दा केही छिन भए पनि गर्मी बिर्सिन्छ,’ उनले भने।
सुमित मात्र होइन, उनी जस्ता सयौँ युवायुवतीहरू गर्मी बिर्सिएर दैनिक जसो तिनाउको पानीमा रमाइरहेका देखिन्छन्। पहाडबाट बगेर आउने भएकाले तिनाउको पानी तराईको गर्मीमा पनि निकै चिसो र स्फूर्तिदायी हुन्छ। यही चिसोपनको आनन्द लिन बुटवल आसपासका मात्र नभई भैरहवा र भारतको गोरखपुरबाट समेत युवायुवतीहरू पौडी खेल्न यहाँ आइपुग्छन्।
गर्मी छल्नका लागि बुटवलको चिडिया खोला, हेड बक्स, दोभान र झुम्सा प्रमुख गन्तव्य बनेका छन्। हेड बक्स र चिडिया खोला बुटवल बजारबाट सबैभन्दा नजिक पर्ने भएकाले यहाँ स्कुले विद्यार्थी र दिनभरि अफिसमा काम गर्ने युवायुवतीहरूको बढी भीड लाग्छ। यहाँ पानीको बहाव केही शान्त छ, जहाँ साथीभाइ मिलेर फोटो खिच्ने, टिकटक बनाउने र पौडी खेल्नेको लर्को देखिन्छ।
अलि साहसी र प्राकृतिक काखमा रम्न चाहने युवाहरू सिद्धार्थ राजमार्गको उकालो लाग्दै पाल्पाको दोभान र झुम्सासम्म पुग्छन्। चिसो सिरेटो चल्ने यी क्षेत्रका खोच र छाँगाहरूमा झरेको पानीमा रुझ्नुको मज्जा नै बेग्लै हुने युवाहरूको अनुभव छ।
चर्को गर्मी बिर्साउन तिनाउ नदी जति मनमोहक र शीतल देखिन्छ, यसको भित्री बहाव र भूगोल भने त्यत्तिकै चुनौतीपूर्ण र जोखिमपूर्ण मानिन्छ।
तिनाउका विभिन्न खोँच र दहहरूमा पौडी खेल्ने क्रममा डुबेर हरेक वर्ष एक दर्जन बढी युवाहरूको ज्यान जाने गरेको छ। तिनाउको तल्लो तटमा हिउँद याममा त्यति धेरै जोखिम नदेखिए पनि माथिल्लो तटमा भने भित्रभित्रै तीव्र बहाव र गहिरा दहहरू रहेकोले पौडी खेल्ने क्रममा तिनै दहका खोँचमा परेर कैंयौं युवाहरूको मृत्यु हुने गरेको छ।
तस्बिरहरूः
-ink-1779680209.jpeg)
-ink-1779680209.jpeg)
-ink-1779680209.jpeg)