रूकुम पश्चिममा आफ्नै भाइबुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्।
आरोपीलाई केही दिन पहिले पुर्पक्षका लागि थुनामा पठाइएको हो।
दाजु पुर्पक्षका लागि कारागार पठाइएको केही दिन पछि उनका भाइ पनि बलात्कार मुद्दामा पक्राउ परेका छन्।
यो घटना सानीभेरी गाउँपालिका वडा ९ को हो।
२४ वर्षीय जेठाजु परिवारसहित बजारमा बस्थे भने बुहारी गाउँमा बस्थिन्। घरको अप्ठ्यारो बुझ्न आएको बहानामा पुगेका जेठाजुले १८ वर्षीया बुहारीमाथि जबरजस्ती बलात्कार गरेको भन्ने पीडितको जाहेरीका आधारमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको थियो।
श्रीमान रोजगारीको खोजीमा छिमेकी देश भारतमा रहेको समयमा आफूमाथि जेठाजुले जबरजस्ती गरेको पीडित बुहारीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा उनी वैशाख ११ गते पक्राउ परेका थिए।
जिल्ला अदालतले जेठाजुलाई पुर्पक्षका लागि वैशाख २९ गते थुनामा पठाएको थियो।
त्यस्तै, आफ्नी श्रीमतीमाथि आफ्नै दाजुले गरेको अत्याचारबारे थाहा पाएपछि घर फर्किएका पीडित किशोरीका २३ वर्षीय श्रीमान पनि यतिखेर आफै बलात्कार मुद्दामा पक्राउ परेका छन्।
स्थानीय एक जना १७ वर्षीया किशोरीले आफूमाथि उनले जबरजस्ती करणी गरेको भनेर किटानी जोहरी दिएको हुँदा उनी वैशाख २८ गते पक्राउ परेका हुन्।
पीडित भनिएकी किशोरीले सोही दिन २३ वर्षीय ती पुरूषका विरूद्ध किटानी जोहरी दिएकी थिइन्। जाहेरीका आधारमा उनलाई सोही दिन पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिकुमार पुनले बताए।
‘घरको सहोदर दाजु बुहारीको मुद्दामा र उनका भाइ गाउँकै एक किशोरीको किटानी जोहरीका आधारमा पक्राउ परेका हुन्,’ प्रहरी निरीक्षक पुनले भने, ‘घरमा भाइ नभएको मौका छोपी आफ्नै बुहारीमाथि बलात्कार गरेको आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ भने एक जना गाउँकै किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भाइ माथिको अनुसन्धान जारी छ।’
भाइ पक्राउ परेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।