अमेरिकी गुप्तचर संस्था सिआइएका एक अधिकृतमाथि संस्थाबाट ३०३ किलो सुन चोरी गरेको आरोप लागेको छ।
अति-गोप्य सुरक्षा अनुमति (टप-सिक्रेट क्लियरेन्स) प्राप्त पूर्ववरिष्ठ कार्यकारीका डेभिड जे रसले सिआइएबाट चार करोड डलरभन्दा बढी मूल्यका ३०३ वटा सुनका बिस्कुट चोरी गरी भर्जिनियास्थित आफ्नो निवासमा लुकाएको भनेर द वासिङ्टन पोस्ट पत्रिकाले जनाएको छ।
केही समय अघिसम्म सिआइएमा रहेका रसलेले आफ्नो शिक्षा र सैन्य सेवाका बारेमा पनि आफ्ना माथिल्ला अधिकारीहरूलाई भ्रममा पारेका थिए। त्यस्तै आफूसँग नभएको कलेज डिग्रीहरूको झूटो दाबी गरेको अनि आफूले नपाउने ७७ हजार डलरको सैन्य बिदाको तलब समेत लिएको भनेर सरकारी वकिल र बहालवाला र पूर्वअमेरिकी अधिकारीहरूको हवाला दिँदै पोस्टले लेखेको छ।
रस जासुसी मिसनका लागि उच्च प्रविधियुक्त उपकरणहरू विकास गर्ने सिआइएको 'डाइरेक्टोरेट अफ साइन्स एन्ड टेक्नोलोजी' मा काम गर्थे।
रसले गत नोभेम्बरदेखि मार्चको बीचमा धेरै पटक सिआइएसँग सुन र नगदको माग गरेका थिए। उनको कार्यालयमा पछि खोजी गर्दा भण्डारण गरिएको विदेशी मुद्राको केही अंश मात्र रहेको खुलासा भएको थियो। सिआइएले सुनका बिस्कुट र बाँकी विदेशी मुद्रा फेला पार्न नसकेपछि एफबिआईलाई अनुसन्धानका लागि सिफारिस गरेको थियो।
एफबिआईले मे १८ मा रसको घरमा खानतलासी गर्दा झण्डै एक किलो वजनका ३०३ वटा सुनको बिस्कुट र करिब २० लाख डलर नगद पनि जफत गरेको छ। त्यस्तै, लगभग ३५ रोलेक्स जस्ता ज्यादै महँगा घडीहरू पनि उनको घरमा फेला परेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)