किष्ट शिक्षण अस्पतालले २०० भन्दा बढीको अंग प्रत्यारोपण गरी अंगदाताहरूलाई सम्मान गरेको छ।
बिहीबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित एक कार्यक्रमबीच अस्पतालको किष्ट प्रत्यारोपण केन्द्रले २१७ जना अंग दातालाई सम्मान गरेको हो।
अस्पतालले पाँच वर्षअघिदेखि मिर्गौला र कलेजोको प्रत्यारोपण गर्दै आएको छ। अहिलेसम्म मिर्गौला २०२ जनाको प्रत्यारोपण भएको छ। त्यस्तै १५ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ।
निजी क्षेत्रतर्फ सबैभन्दा धेरै मानिसको अंग प्रत्यारोपण गरेको अस्पतालको दाबी छ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठसहित जनप्रतिनिधिहरू उपस्थित थिए।
अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले अस्पतालमा पाँच वर्ष अघि सुरूमा आफूहरूले मिर्गौलाको प्रत्यारोपण गर्न थालेको बताए। पछि त्यसलाई कलेजो प्रत्यारोपणमा समेत विस्तार गरी अस्पतालमा उपचारको सेवालाई विस्तार गरेको बताएका थिए।
नेपालमै पहिलो पटक दुई फरक अंगदाताबाट एकै पटकमा एकै बिरामीमा मिर्गौला र कलेजोको प्रत्यारोपण गर्न किष्ट अस्पताल सफल भएको पनि उनले जानकारी दिए।
३३ वर्षीय एक महिलालाई मिर्गौला दिने उनका श्रीमान निरचन्द भुजेल र कलेजो दिने मन्जुकुमारी भुजेललाई यस कार्यक्रममा सम्मान गरिएको थियो।
त्यस्तै ८० वर्षीया गुम भण्डारीले छोरीलाई मिर्गौला दिएकी थिइन्। भण्डारीलाई पनि सम्मान गरिएको थियो।
सबैभन्दा कान्छी उमेरकी १९ वर्षीय ममता राईले आफ्ना हजुरबुबालाई मिर्गौला दान गरेकी थिइन्। ममता पनि यस कार्यक्रममा सम्मानित भएकी हुन्।
यसरी अस्पतालले २१७ जना अंगदातालाई सम्मान गरेको हो।