कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल बिहीबार औपचारिक रूपमा प्रदेश सरकार मातहत सञ्चालनमा आएको छ।
अस्पताल भवन उद्घाटनका क्रममा स्थानीयस्तरमा बाजागाजा, झाँकी र जुलुससहित उत्साहपूर्ण कार्यक्रम गरिएको थियो। उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह सहभागी थिए।
लम्कीचुहा नगरपालिका–१० चुहास्थित अस्पतालको स्वामित्वलाई लिएर लामो समयदेखि प्रदेश सरकार र नगरपालिकाबीच विवाद चल्दै आएको थियो। नगरपालिकाले अस्पताल सञ्चालन गर्दै आएको भए पनि प्रदेश सरकारले यसलाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो।
विवाद चर्किएपछि नगरपालिकाकी मेयर सुशिला शाहसहितको टोली सर्वोच्च अदालत पुगेको थियो। तर अदालतले प्रदेश सरकारकै पक्षमा फैसला सुनाएपछि अस्पताल प्रदेश मातहत ल्याउने प्रक्रिया अघि बढेको हो। त्यसपछि पनि कर्मचारी व्यवस्थापन र सञ्चालन अधिकारलाई लिएर दुवै पक्षबीच तनाव कायम थियो।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले विगतका विवाद बिर्सेर अस्पतालको विकासमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए।
उनले प्रदेश सरकारले कसैको अधिकार नमिचेको दाबी गर्दै सहकार्य आवश्यक रहेको उल्लेख गरे।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि प्रदेशका केही अस्पताललाई स्तरोन्नति गर्ने नीति लिएको थियो। सोही योजनाअनुसार लम्कीचुहा अस्पताललाई १५ शैयाबाट ५० शैयामा विस्तार गरी प्रादेशिक अस्पताल बनाउने प्रक्रिया सुरू गरिएको हो।
अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अस्पतालका लागि १४६ जनाको दरबन्दी पनि स्वीकृत गरिएको प्रदेश सरकारको भनाइ छ।
स्थानीयबासीले अब आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्। अस्पताल स्तरोन्नतिसँगै उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।