स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ।
सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य प्रकृतिका बिरामीलाई पनि आकस्मिक अन्तर्गत उपचार सेवा प्रदान गरी दाबी पेस गरिए त्यस्ता भुक्तानीहरू नहुने बताएको हो।
'त्यस्ता दाबीहरूको भुक्तानी नगरिने तथा प्रचलित कानुन बमोजिम भैजाने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' विज्ञप्तीमा भनिएको छ।
बोर्डले आम सेवाग्राहीहरूलाई पनि सूचनाको पूर्ण पालना गरी सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिए बमोजिमको सेवा प्राप्त गर्न भनेको छ।
आकस्मिक उपचार गर्न आवश्यक पर्ने प्रकृतिको देखिएको अवस्थामा भने त्यस्तो सेवाको भुक्तानी हुने बोर्डले जनाएको छ।
'त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भए उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने ब्यहोरा जानकारी गराइन्,' पत्रमा भनिएको छ।