डडेल्धुराबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जना पुरूष महाकाली नदीमा मृत फेला परेका छन्।
सोमबार सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र उनका मामा नाता पर्ने तीर्थबहादुर थापामगर नदीको छुट्टाछुट्टै ठाउँमा फेला परेका हुन्।
जिल्ला प्रहरी डडेल्धुराका डिएसपी बरूणबहादुर सिंहका अनुसार तीर्थबहादुर पर्शुराम नगरपालिका-५ परिगाउँ नजिकै नदी किनारामा फेला परेका हुन्।
त्यहीँ ठाउँको बिओपीमा कार्यरत ओमप्रकाश पुन मगर भने कञ्चनपुर र भारतको सीमा क्षेत्रमा मृत फेला परेका हुन्।
उनको शव भारतपट्टि फेला परेकाले भारतीय सुरक्षा निकायले मुचुल्काको काम गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरले भने समन्वय गरिरहेको जनाएको छ।
डिएसपी सिंहका अनुसार मृत फेला परेका दुबै जना शुक्रबार हराएका थिए। उनीहरू साँझ ५ बजेसम्म सँगै देखिएको उनले बताए।
‘उहाँहरू साँझ ५ बजेसम्म सँगै देखिएका थिए। शनिबार बिहान सशस्त्र जवान बिओपीमा नरहेको थाहा भयो। त्यसपछि सशस्त्रले खोजी गर्न थाल्यो। हामीलाई साँझ ५ बजेतिर खबर भएपछि खोजी हुन थालेको हो,’ उनले भने।