संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएर वीरगती प्राप्त नेपाली सैनिकका परिवार सम्मानित भएका छन्।
शान्ति सैनिक दिवसका अवसरमा सोमबार काभ्रेको पाँचखाल नगरपालिका-६ वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा शान्ति मिसनमा जीवन गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानलाई स्मरण गरिएको थियो।
प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने क्रममा वीरगति प्राप्त गरेका दुई सैनिकका परिवारलाई सम्मानपत्र प्रदान गरे।
साथै, शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने पाँच जना सैनिकलाई कदरपत्र प्रदान गरे।
'मिसनमा खटिएका तथा भविष्यमा खटिन लागेका सबै शान्ति सैनिकहरूको सेवाले जोखिममा परेका विश्वका लाखौं नागरिकको आशा र भरोसा बनेको छ,' प्रधानसेनापति सिग्देलले भने।
नेपाली सेनाका अनुसार नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएको छ। हाल नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा अग्रस्थानमा रहेको छ।
हाल विश्वका विभिन्न ९ वटा संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका ५ हजार ७१९ जना शान्ति सैनिक कार्यरत छन्।
हालसम्म शान्ति स्थापना अभियानका क्रममा ७८ जना नेपाली सैनिकले मृत्यु भएको छ भने ६७ जना घाइते भएको सेनाले जनाएको छ।
समारोहमा रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारी, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका अधिकारी, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मी तथा नेपाली सेनाका बहालवाला र अवकाशप्राप्त सैनिकहरूको उपस्थिति थियो।