धादिङमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
बिहीबार दिउँसो १:४० बजे धादिङको नीलकण्ठ नगरपालिका-१० टारीबेशीस्थित सल्यानटारमा बागमती बी एएफ ०२२३ नम्बरको गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्।
गाडी नृसिंहधामबाट भक्तपुर फर्कँदै गर्दा सल्यानटार-धादिङवेशी खण्डमा सडकबाट झन्डै डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए।
दुर्घटनामा परी भक्तपुरस्थित सुर्यविनायक नगरपालिका-५ का ५५ वर्षीय परशुराम कोइराला, ५४ वर्षीय श्यामकृष्ण धुखुवा, सुर्यविनायक-४ का ७२ वर्षीय श्याम खड्का, ५८ वर्षीय राजेन्द्र कार्की, सूर्यविनायक-७ का ५३ वर्षीय नुछेबहादुर कोजु, ५५ वर्षीय पूर्णबहादुर बासु र ललितपुरको महालक्ष्मी नगरपालिका-७ का ५२ वर्षीय राजेन्द्र महर्जन घाइते भएका छन्।
सातै जना घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी पठाइएको इन्स्पेक्टर बस्नेतले जानकारी दिए।