दाङ, बाँके र सुर्खेतमा १० जना झन्डै २५ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन्।
दाङको तुलसीपुरबाट ४ जना, बाँकेको कोहलपुरबाट ४ जना र सुर्खेतको वीरेन्द्रनगरबाट २ जना गरी १० जना पक्राउ परेका हुन्। सुर्खेतबाट पक्राउ पर्नेहरू भारतीय नागरिक हुन्।
तुलसीपुरका चार युवा १० ग्राम १९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय पबित्रा डाँगी, सोही वडाका २६ वर्षीय गोविन्द बुढा मगर, वडा नं. ७ का ३० वर्षीय कमल केसी र सोही वडाका २७ वर्षीय रिगल महतरा क्षेत्री छन्।
जिल्ला प्रहरी प्रवक्ता रेशम बोहराका अनुसार उनीहरूको साथबाट १० ग्राम १९० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो।
तुलसीपुर–६ झुमरेमा लागुऔषध अवैध खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा ठूला परिमाणमा ब्राउन सुगर बरामद भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए।
पक्राउ परेका व्यक्तिहरूले प्रयोग गर्ने ८ थान मोबाइल र तीन हजार आठ सय ४५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरूद्ध जिल्ला अदालतबाट म्याद थप भई आगुऔषध शिर्षकमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाँके
बाँके प्रहरीले साढे ७ ग्राम बढी ब्राउन सुगर सहित चार युवालाई पक्राउपछि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको कोहलपुर नगरपालिका– २ का ४२ वर्षीय द्वारिका प्रसाद थारू, सोही वडाका २२ वर्षीय समिर विक, २८ वर्षीय राकेश चौधरी र वैजनाथ गाउँपालिका– ५ का २४ वर्षीय ओमकान्त थारू पक्राउ परेका छन्।
द्वारिका प्रसाद थारूको घरमा आगु औषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट ७ ग्राम ५७० मिलीग्राम ब्राउन सुगर बरामद भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतिकसिंह राठोरले बताए।
जिल्ला अदालतले चारै जनालाई ७ दिन थुनामा राखेर लागु औषध शिर्षकमा मुद्दा चलाउने गरी घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ।
सुर्खेत
सुर्खेत प्रहरीले ७ ग्राम १५० मिलीग्राम ब्राउन सुगर सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत उत्तर प्रदेशको जिल्ला श्रीवास्तव घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा कोठा भाडामा बस्ने २३ वर्षीय त्रिपुरारी लाल, भारत उत्तर प्रदेश बहराइज नानपारा घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा कोठा भाडामा बस्ने ५६ वर्षीय दिलिपकुमार सिंह पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार वीरेन्द्रनगर–३ गण्डकी लाइनमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई शरीर र कोठामा खान तलासी गर्दा ७ ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।
म्याद थप भई उनीहरूमाथि पनि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।