रोल्पामा बिहीबार बिहान भएको बोलेरो पिकअप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ।
दुर्घटनामा परी दाङको दंगीशरण गाउँपालिका– ७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका– १४ मा बस्दै आएका ४० वर्षीय जिउधन चौधरी, उनकी ३० वर्षीया श्रीमती कमला चौधरी र गाडी चालक घोराही–७ का देसाहीका २५ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको हो।
रोल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार दाङबाट गएका आफन्तले मृतकको पहिचान गरेका हुन्।
प्रहरी अनुसन्धानबाट इलाका प्रहरी कार्यालय होलेरीको चेकपोष्टमा जेठ २० गते साढे १० बजेतिर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पिकअप गाडी चालक वीरबहादुरले इन्ट्री गराएका थिए। त्यसमा उनले आफ्नो ठेगाना दाङको घोराही लेखाएका थिए। उनले उक्त पिकअप गाडी घोराहीस्थित ‘सिद्धबाबा सप्लायर्स’ बाट होलेरीका लागि सामान लगेर आएको विवरणहरू टिपाएका थिए।
सोही आधारमा प्रहरीले दाङमा आफन्तहरूलाई बोलाएको थियो। सोही कारण मृतकको सनाखतमा ढिलाइ भएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरू पसलको सामान बिक्री गर्नका लागि रोल्पा पुगेको खुलेको छ।
घटनास्थल पुगेका रोल्पाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुले भीरमा अड्किएको अवस्थामा सडकदेखि करिब तीन सय मिटरमुनि भीरमा अड्किएको अवस्थामा तीन जनाको शव फेला परेको बताएका थिए।
उनका अनुसार पिकअप भने सडकदेखि झन्डै छ सय मिटरमुनि क्षतविच्छेद अवस्थामा फेला परेको थियो।
बिहीबार बिहान ८ बजेतिर सहिद मार्ग अन्तर्गतको व्याङखोला माडी गाउँपालिका– २ घर्ती गाउँको व्याङखोलाबाट अस्थायी नम्बर प्लेट एमएच १४ टिसीजे ४७१ नम्बरको सिंगल पिकअप बोलेरो झन्डै ६०० मिटरमुनि खसेको थियो। घटनास्थल व्याङखोला इलाका प्रहरी कार्यालय घर्ती गाउँदेखि झन्डै ४ किलोमिटर पूर्व दक्षिणमा पर्छ।
चालक सहित गाडीमा सवार तीनै जनाको मृत्यु भएको हुँदा दुर्घटनाको कारण खुलिसकेको छैन।
दुर्घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।