बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उनको सचिवालयले विस्तृत भनाइ सार्वजनिक गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीले वास्तविक तथ्य नसमेटेको दाबी गरेको छ।
साहले गैरीधारामा रहेको 'मिथिला थाली' रेस्टुरेन्ट सञ्चालन क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको हो।
यसबारे उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा आर्जव होल्डिङ्सले सञ्चालन गर्दै आएको 'सिला' रेस्टुरेन्ट आर्थिक समस्यामा परेको, बैंक ऋण तिर्न नसकेको र जग्गाधनीले भवन खाली गर्न दबाब दिएको अवस्थामा त्यहाँ रहेका सम्पूर्ण सम्पत्ति किनेर मिथिला थाली सञ्चालन सुरू गरिएको उल्लेख छ।
सचिवालयका अनुसार मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रूपैयाँको सम्झौता भएको थियो।
आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रूपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रूपैयाँ विद्युत् महसुल समेत मिथिला थालीले सम्बन्धित पक्षलाई तिरेर सहजीकरण गरेको दाबी गरिएको छ।
विज्ञप्तिमा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता पनि पटक पटक मिथिला थालीले भुक्तानी गरिदिएको उल्लेख छ। साथै, विभिन्न मितिमा चेकमार्फत रकम भुक्तानी हुँदै आएको जनाइएको छ।
पछिल्लो समय चर्चामा आएको २५ लाख रूपैयाँको विवादबारे सचिवालयले फरक दाबी प्रस्तुत गरेको छ।
सचिवालयले नबिल बैंकमार्फत १७ लाख, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रूपैयाँ गरी कुल २८ लाख २५ हजार रूपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जनाएको छ।
पक्राउको विषयमा सचिवालयले विवादित रकम ४ लाख ५० हजार रूपैयाँ रहेको दाबी गरेको छ। उक्त रकम भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाविरूद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
सचिवालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली जनकपुरसम्म पुगेर पक्राउ गर्न आवश्यक नभएको तथा सामान्य प्रक्रियामार्फत पनि सम्पर्क गर्न सकिने अवस्थामा पक्राउ गरिएको उल्लेख गरेको छ।
साह फरार रहेको भन्ने चर्चा पनि असत्य रहेको दाबी गर्दै एक साताअघि नै उनी प्रहरी कार्यालय पुगेको विज्ञप्तिमा छ।
विज्ञप्तिमा साहलाई गरिएको पक्राउलाई 'हतारपूर्ण' र 'निन्दनीय' भन्दै यसबाट उनले लामो समयदेखि आर्जन गरेको प्रतिष्ठा, सम्मान र गरिमामा आघात पुगेको उल्लेख गरिएको छ।
साहले मिथिला समुदायका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरमा 'मिथिला थाली' सञ्चालन गर्दै आएको र त्यसकै विस्तार स्वरूप काठमाडौंको गैरीधारामा शाखा विस्तार गरिएको सचिवालयले जनाएको छ।
हाल साह ४ लाख ५० हजार रूपैयाँ बिगो रकम बुझाएर हाजिर जमानीमा हिरासतबाट मुक्त भइसकेका छन्।