चितवनबाट अपहरणमा परेका किशोरको काठमाडौंबाट उद्धार गरिएको छ।
सोमबार चितवनको भरतपुर महानगरपालिका-३ नारायणघाटबाट अपरिचित भारतीय नम्बरको गाडीमा हालेर अपहरण गरिएका १६ वर्षीय किशोरको उद्धार भएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नयाँ बजारस्थित एक होटलबाट किशोरको उद्धार गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
उद्धार गरेसँगै यसमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरू सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिद छन्। उनीहरू सबै जना १८ वर्ष उमेर समूहका छन्।
चितवनबाट अपहरणमा परेको खबर भएपछि डिएसपी सुवास भट्टले अपराध अनुसन्धान कार्यालयसँग उद्धारका लागि समन्वय गरेका थिए।
भट्टका अनुसार चितवनमै पनि एक जना पक्राउ परेका छन्।
अपहरण गरेपछि उनीहरूले परिवारसँग २२ लाख रूपैयाँ फिरौती समेत मागेका थिए।
अपहरणमा परेका किशोरका परिवार सुनको कालिगढी सम्बन्धित काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
यसै सिलसिलामा चिनेजानेकै कारण एउटै उमेर समूहका युवाहरूले मिलेर अपहरण गरेको अनुसन्धानमा देखिएको डिएसपी भट्टले बताए।