प्यूठानमा स्कुलबाट घर फर्किँदै गरेका दुई बालकलाई खहरे खोलाको भेलले बगाएको छ।
बगाएका दुईमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी जारी छ।
जिल्लाको नौबहिनी गाउँपालिका–५ का स्थानीय ७ वर्षीय बिमल खत्री र १० वर्षीय मिलन खत्रीलाई दिउँसो ३ बजेतिर जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगाएको थियो।
बिमलको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए।
बगाएको ठाउँदेखि करिब दुई मिटर तल उनको शव फेला परेको थियो। मिलनको अवस्था भने अज्ञात छ। उनको खोजी कार्य जारी छ।
नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालय काँटेबाट घर फर्किँदै गर्दा उनीहरूलाई खहरे खोलामा आएको भेलले बगाएको थियो।
शव फेला परेका बिमल कक्षा १ मा र बेपत्ता मिलन कक्षा ३ मा पढ्थे।
उनीहरूलाई खोलाले बगाएको सूचना बेलुकी साढे ६ बजेतिर वडा सदस्य कुलबहादुर खत्रीले प्रहरीलाई दिएका थिए।
सूचना पाएलगत्तै प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजीका लागि खटिएको छ।
घटनास्थल प्रहरी चौकी डार्मीबाट करिब ६ किलोमिटर उत्तरमा पर्छ।
केही समयअघि मात्रै छिमेकी जिल्ला रोल्पामा खहरे खोलामा आएको बाढीले विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई बगाउँदा मृत्यु भएको थियो ।